समाज


‘अपरेसन कोभिड-१९’ मा सफल सेना कोरोनाविरुद्धको युद्धमा निर्देशन पर्खिंदै

‘अपरेसन कोभिड-१९’ मा सफल सेना कोरोनाविरुद्धको युद्धमा निर्देशन पर्खिंदै

यज्ञराज जोशी
फागुन २७, २०७६ मंगलबार १२:१,

सरकारले निर्देशन दिए कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन तयार रहेको नेपाली सेनाले जनाएको छ।

प्रकोपको सन्त्रास बढ्दै गएपनि सरकारले अहिलेसम्म सेनालाई यसबारे तयार रहन निर्देशन भने दिएको छैन।

सरकारले आवश्यक ठानेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

यसअघि राष्ट्रले दिएको जिम्मेवारी सेनाले कुशलतापूर्वक वहन गरेको बताउँदै पाण्डेले भने, ‘अहिलेसम्म तयार रहनू भन्ने आदेश छैन। सरकारले हामीलाई जिम्मेवारी दियो भने हामी पूरा गर्न तयार छौं।’

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले पनि त्यसलाई नियन्त्रणमा लिन सेना परिचालन गरेको थियो। चीनले कोभिड–१९ विरुद्ध ‘जनयुद्ध’ को नाममा सेनाको मेडिकल टिम, लजिस्टिक टिम र हवाई शक्ति समेत परिचालन गरेको थियो।

यसअघि कोरोनाको उद्गमथलो चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई स्वदेश फर्काउने काममा पनि सेनाले जिम्मेवारी वहन गरेको थियो। दुई साताभन्दा लामो समय तिनलाई क्वारेन्टाइनमा राख्दा व्यवस्थापनको जिम्मा सेनालाई नै दिइएको थियो।

‘अपरेसन कोभिड–१९ नेपाल’ नामाकरण गरिएको सो काम सफलतापूर्वक सम्पन्न गरेकोमा सेनाको प्रशंसा गरिएको थियो।

सरकारले पनि कोरोनाको जोखिम बढी देखिए सेनालाई परिचालन गर्नसकिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जटिल अवस्था देखिए सेनाको सहयोग लिन सकिने बताए।

‘आवश्यक परेमा सेनाको सहयोग लिनेछौं,’ देवकोटाले भने, ‘अहिलेकै अवस्थामा आवश्यक भएन। यदि थप जोखिम देखिएमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ। भविष्यमा कुन अवस्थामा कसरी अघि बढ्ने भनेर हामी सूक्ष्म योजना बनाइरहेका छौं।’

नेपाली सेनाको सरुवा रोग विभागका चिकित्सक तथा ‘अपरेसन कोभिड–१९ नेपाल’ को नेतृत्व गरेका चिकित्सक नवीन फुयालले सेना कोरोनाविरुद्ध लड्न आन्तरिक रुपमा तयार रहेको बताए।

‘हामीले आन्तरिक रुपमा तयारी गरेका छौं। सरकारबाट कुन स्केलको जिम्मेवारी आउँछ टुंगो लागिसकेको छैन,’ उनले भने।

नेपाली सेनाले आफूसँग भएको क्षमता भने खुलाउन चाहेको छैन। सेनाले सरकारसँग मिलेर काम गर्ने भएकाले आवश्यक पर्दा थप जनशक्ति तथा सामाग्री सरकारीस्तरबाट प्राप्त हुने सेनाको भनाइ छ।

नेपाली सेनाले स्वास्थ्य विज्ञान संस्थानद्वारा चिकित्सकीय सेवा दिँदै आएको छ। सेनाको केन्द्रीय अस्पतालका रुपमा रहेको वीरेन्द्र सैनिक अस्पतालको क्षमता ६ सय ३५ शय्या छ। अस्पतालमा पहिलेदेखि नै आईसीयू तथा आइसोलेसन बेड छुट्टाइएको र आवश्यक परे थप तयार पारिने प्रवक्ता पाण्डेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad