समाज


मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटक २ दिनपछि रुँदै गरेको अवस्थामा भेटिइन्

मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटक २ दिनपछि रुँदै गरेको अवस्थामा भेटिइन्

उद्धारपछि वडाध्यक्ष हरिबहादुर क्षेत्रीका साथमा चिनियाँ पर्यटक


नेपालखबर
असोज २६, २०८१ शनिबार ७:५०, कास्की

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ। 

यही असोज २२ गते राति हाइक्याम्पको होटल नमस्तेमा बास बसेर भोलिपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधार शिविरतर्फ जाने क्रममा गलत बाटोबाट गएपछि हराएकी थिइन्। 

पर्यटक हराएको सूचनापछि खोजीमा जुटेका स्थानीय, पर्यटक प्रहरी, पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा भैँसी गोठाला मालिकसहितको टोलीले शुक्रबार दिउँसो पर्यटकलाई मर्दीको मुहान कोलङ्गे भन्ने स्थानबाट सकुशल उद्धार गरेको माछापुच्छ्रे-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए।

क्षेत्रीका अनुसार बुधबार र बिहीबार भैँसी गोठका मालिक प्रसाद पौडेल र होटल सञ्चालकसहितको टोलीले साँझसम्म खोजी गरे पनि काँडाघारी, सिस्नो अप्ठ्यारो भौगोलिक अवस्थाका कारण पर्यटकको अवस्था पत्ता लगाउन सकेको थिएन। पर्यटकको खोजीका लागि पर्यटक प्रहरीसहितको टोलीले शुक्रबार बिहानदेखि खोजी पुनः सुरु गरेको थियो।

'मर्दीको मुहानभन्दा केही तल ठाउँठाउँमा लडेको, जुत्ता लगाएको निशान देखेपछि सो निशान पछ्याउँदै ठूलो स्वरमा चिच्यायौँ र उताबाट पनि कराउँदै रोएको आवाज सुनेपछि धेरै तल खोलाको किनारनजिक पर्यटकलाई फेला पार्न सफल भयौँ,' वडाध्यक्ष क्षेत्रीले भने।

खोजीमा खटिएको प्रहरी टोलीले पर्यटकलाई सिधिङसम्म ल्याएर पर्यटक प्रहरीको जिम्मा लगाएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad