ad ad

समाज


माइला तामाङसँग स्वास्थ्यमन्त्रीले सोधे- तपाईंले उपचारको पैसा त तिर्नुपरेन नि?

माइला तामाङसँग स्वास्थ्यमन्त्रीले सोधे- तपाईंले उपचारको पैसा त तिर्नुपरेन नि?

नेपालखबर
असोज १९, २०८१ शनिबार १९:५७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अवलोकन गरेका छन्।

बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए। 

मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँग प्रश्न गरे। 

परिवारका सात जना गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे। जवाफमा तामाङले भने, ‘उपचार त राम्रो पाइरहेको छु। पैसा तिर्नु पनि परेन। तर परिवारका कोही बचेनन् बस्ने घर पनि छैन।’

सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो, जवाफमा मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताए।

मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिँदै अब प्रदुषित पानी तथा फोहोरका कारण संक्रमण फैलनसक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे।

‘हामीले एउटा संकट त भोग्यौँ,’ स्वास्थ्य कार्यालयका अधिकारीहरु तथा स्थानीय तहका प्रमुखहरुसमेतसँग मन्त्री पौडेलले भने, ‘अब विपद्पछिको स्वास्थ्य संकट आउन नदिन सजग छौँ। स्वस्थ पानी प्रयोग गर्न र अरु संक्रमण फैलन नदिन सघाउनुहोला।’ 

मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धिकरण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए। 

मन्त्री पौडेलले प्रभावित बेथानचोक तथा पनौती बजारको अवलोकन गर्दै स्वास्थ्यकर्मीहरूले पुर्‍याएका सेवाको प्रशंसा गरे। पनौती १२ भूमिडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिँदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धीकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए।

‘अरु पनि सहयोग चाहिए भन्नुहोला मन्त्रालय तयार छ’, उनले भने। 

मन्त्री पौडेलले स्थानीयवासीसँग अन्तर्क्रिया गर्दै विपद्पछिको राहतमा सरकार साथ रहेको बताए। उनले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र सेवन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरूलाई चाहिने सामग्री उपलब्ध गराएका छौँ। नपाए स्वास्थ्य चौकीमा माग्नुहोला।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .