ad ad

समाज


परिवारका ८ जना गुमाएका माइलाको विलाप : अब कसको मायाले गाउँ फर्किनु!

परिवारका ८ जना गुमाएका माइलाको विलाप : अब कसको मायाले गाउँ फर्किनु!

धुलिखेल अस्पतालमा उपचाररत माइला तामाङ


उजिर कार्की
असोज १७, २०८१ बिहिबार २२:७, काठमाडौँ

धुलिखेल अस्पताल। हाडजोर्नी विभागको बेड नम्बर ‘५ एफ’ मा ढलिरहेका छन् काभ्रेको तेमाल गाउँपालिका २ ढडेनपाखाका माइला तामाङ। घरको जेठो सन्तान भए पनि उनको नाम माइला हो।

टाउकोमा टाँका मारेर पट्टी बाँधिएको छ। देब्रे खुट्टा सिसाले काटेर घुँडाभन्दा तलको भागमा चोटैचोट छ। अप्रेसन गरेर पट्टी बेरिएको छ। 

खुस्किएको दाहिने हातलाई अडिन सहारा बनाइएको छ गर्धन।

सात दिनअघि (असोज ११) परिवारै सखाप बनाएको पहिरोले माइलालाई यो हालतमा पुर्‍याएको हो। पहिरोमा पुरिएको ३० घण्टापछि नेपाली सेनाले हेलिकप्टरमा उनलाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।

माइलालाई आफ्नो उपचारको चिन्ता छैन। छिट्टै डिस्चार्ज भएर घर जाने हतारो पनि छैन। उनले डाक्टरलाई सोधेका पनि छैनन्– कहिले सन्चो हुन्छ र डिस्चार्ज हुन्छु भनेर।

बरु माइलालाई चिन्ता त यो छ –अस्पतालले डिस्चार्ज गरेपछि जाने कहाँ? 

‘अब घर कसको मायाले जानु र सर?’ नेपालखबरसँग बिहीबार साँझ टेलिफोनमा माइलाले भने, ‘घर जाऊँ भने घर छैन। घरमा कोही पनि बाँकी छैनन्। बाबुआमा छैनन्, श्रीमती पनि छैन, कसको मायाले जाने र घर? जग्गा जमिनको मायाले जाऊँ भने पहिरोले लग्यो, मान्छेको मायाले जाऊँ भने एउटै छैनन् घरमा। अब त्यहाँ फर्किने कुरै नगरौँ।’

अब माइलाको न घर छ, न त परिवार नै सबै छन्। ११ गतेको पहिरोले बुबा–आमा र श्रीमतीसहित ८ जनालाई लग्यो। 

माइलाका बुबा सानुमान, आमा जिरामाया तामाङ, श्रीमती कान्छीमाया, भाइ मनजित र बुहारी कान्छी, मनजितका छोरीहरू अप्रिया, सुप्रिया र छोरा सरोज पहिरोमा परे। 

अप्रिया र सुप्रिया पहिरोमै बेपत्ता छन्। दुई दिनअघि ५ जनालाई जलाएर घेवा गर्न साइँलो र कान्छो छोराबुहारीहरू स्वयम्भूको गुम्बामा आएका छन्। 

जेठो छोरा माइलाले भने बाबुआमाको अन्त्येष्टि गर्न पनि पाएनन्।

‘पहिरो जाने बेलामा घरमा ९ जना थियौँ। ८ जना सबैलाई लग्यो, मलाई छाड्यो,’ माइला आफ्नै नियतिसँग गुनासो गर्छन्, ‘म पनि त्यतिखेरै जानु पर्ने, जान दिएन। मेरो भाग्यमा यस्तै भोग्नु रहेछ। मैले दुःखै भोग्नु पर्ने रहेछ। अझै धेरै दुःख भोग्न लेखेको रहेछ।’

आफ्नो घर असुरक्षित ठानेर बाबुकोमा गएका थिए माइला र कान्छीमाया
असोज १० गते रातिदेखि नै पानी दर्किरहेको थियो। माइला दम्पतीले त्रासैत्रासमा रात काटे। बिहान पनि पानी नरहेपछि सबैजना घरघरमै थिए। बिहान उठेर हेर्दा घर छेउमा जताततै पहिरो गएको थियो। घर माथिबाट ढुंगा पल्टिएका थिए। 

नजिकै रहेका बाबुआमाको घरमा पुगेर माइलाले आफ्नो घरवरपर पहिरो गएको सुनाए। आमाले भनिन्, ‘त्यहाँ बस्नु ठिक छैन। तिमीहरू पनि यहीँ आओ।’

माइलाको कच्ची घर थियो। नजिकै ठूलो पहिरो थियो। 

‘पहिरोले मेरो घर पनि तान्छ कि जस्तो लागेर बाको घर गाको,’ माइलाले घटनाअघिको कुरा सुनाए।  

घर फर्किएर श्रीमतीलाई मूलघरमै जाऊँ भने। श्रीमतीले खाना पकाइन्। बेलुकीकै तरकारीसँग खाना खाएर तीनवटा बाख्रा डोर्‍याउँदै उनीहरू बाबुआमाको घर गए। बिहान साढे १० बजेतिर कुखुरा पनि बुबाकै घरमा लगे। 

उनीहरूको घरभन्दा थोरै माथितिर छ बुबा र भाइ मनजितको घर। २०७२ सालको भूकम्पले उनीहरूको परिवारलाई विस्थापित बनाए पनि यसरी सखाप भने बनाएको थिएन। भूकम्पपछि सरकारले दिएको रकमले बनाएको घरमा बस्थे बुबाआमा। 

मनजितको परिवार बुबाआमाको घरसँगै जोडिएको मतानमा बस्थे। आँगन एउटै थियो। बिहान ११ बजेतिर बाबु–आमा खाना खान थाले। बुहारीले खाना पस्किएर दिइन्। बुबा खाना खाएर आराम गर्न भित्रै बिस्तारामा पल्टिए। 

सासू–बुहारी भाँडा माझेर घरको पेटीमा बसेका थिए।

भाइ मनजितको परिवारका सबैले आफ्नै घरमा खाना खाए। माइला भने बाहिर बसेर यताउति हेरिरहेका थिए। ठाउँठाउँमा पहिरो गइरहेको थियो। उनलाई आफू रहेको स्थान असुरक्षित लागेकै थिएन। बरु आफ्नो घरचाहिँ पहिरोले लैजान्छ कि भन्ने चिन्ता थियो। 

माइलाको परिवार सखाप पारेको तेमालको पहिरो

त्यस्तै साढे ११ जति भएको थियो। 

‘माथिबाट गडङ् गडङ् गर्दै ठूलो आवाज आयो। मैले आँगनबाट मास्तिर हेरेँ। पहिरो नजिकै आइसकेको रहेछ,’ परिवारै सखाप पार्ने पहिरो सम्झिए माइलाले भने, ‘म भाग् भाग् भन्दै आफू पनि भाग्न खोजेँ। म त सकेसम्म भागेँ। आमा भित्र छिरिछिन्। बुबा सुतिरहेकै थिए। भाइबुहारी पनि खाना खाएर बाहिरै थिए। म हामफालेँ, भाइ पनि मसँगै भाग्यो जस्तो लाग्थ्यो, तर भागेनछ।’

यता र उता खोला छ। पानी दर्केको दर्क्यै थियो। उनीहरू भाग्नै नसकेको माइलाले अड्कल काटे।

दुईवटै घर पहिरोले बगाएछ। माइलालाई पनि जस्ता र घरको झ्यालको सिसाले काटेछ। लेदोले थिचिरहेको रहेछ। दुई घण्टापछि माइला होसमा आउँदा एकछिन केही देखेनन्। 

‘तिरिमिरि भएर निकैबेर आँखै खुलेन। पछि बल्लबल्ल पहिरोबाट निस्किएँ। तर म कसरी निस्किएँ याद छैन,’ माइलाले सुनाए, ‘घिस्रिँदै आफ्नै घर गएर ढलेँ।’

बिहान असुरक्षित ठानेर सरेकै घरमा माइला ओत लाग्न पुगे। उनी एक्लिइसकेको कसैलाई थाहै थिएन। घरमा भएका बाख्रा र कुखुरा पनि बाबुकै गोठमा सारेकाले पहिरोले लगिसकेको थियो।

घाइते माइला आफ्नै घरमा गएर पल्टिए। उनलाई घर पुग्दा लागिसकेको थियो अब परिवारका कोही पनि जीवित छैनन्। 

माइलाको मूलघर पहिरोमा परेको आशंकामा तिलखोरियाका फुलमान, बुद्धिलाल र अनिल तामाङ घरमाथिको पिपलबोटमा पुगेर सुसेले। उनीहरूले सुसेलेको माइलाका कानमा पर्‍यो। जवाफमा उनी कराए। मूलघर पहिरोले लगेको देखिन्थ्यो तर माइलाको घरको ढोका खुल्लै थियो। 

फुलमान र अनिल पहिरो छिचोल्दै माइलाको घरमा पुगे। बुद्धिलाल माथि नै बसे। 

‘उनीहरू आएर जाऊँ काका जाउँ भन्दै एउटाले हातमा तानेछन्, अर्काले पछाडिबाट धकेलेर डाँडागाउँको गुम्बामा पुर्‍याए,’ माइलासँग अस्पतालमा चार दिन कुरुवा बसेर फर्किएका उनका काकाका छोरा वीरमान तामाङले नेपालखबरसँग भने। 

गुम्बामा स्थानीयले रगत पुछिदिए। घरेलु उपचार पनि गरेर त्यो रात गुम्बामै राखियो। वडाध्यक्ष देवराज तामाङले घटना सुनेलगतै उद्धारका लागि जिल्लामा खबर गरिसकेका थिए। तर खराब मौसमका कारण त्यसदिन माइलालाई अस्पताल लैजान सम्भव नभएको वडाध्यक्ष तामाङले बताए। पैदल सुरक्षाकर्मी पहिरोले जान सक्ने अवस्थै थिएन।

भोलिपल्ट दिउँसो चार बजेतिर नेपाली सेनाको हेलिकप्टर पुग्यो र माइलालाई अस्पताल पुर्‍याइयो। 

अस्पतालमा छोराछाेरी र ज्वाईंसँग माइला

छोराछोरीले भेटे अस्पतालमा, बाहिर हुँदा जोगियो आधा परिवार
अहिले अस्पतालमा माइलासँगै छोरा र छोरीज्वाइँ छन्। पहिरो गएको दिन माइलाका छोरा रहर काठमाडौंतिर थिए। 

२०७३ सालमै विवाह गरेर दिएकी छोरी सुशीला भक्तपुर बस्छिन्। माइलालाई अस्पतालमा भर्ना गरेको सुनेपछि ज्वाइँ सरेश पनि अहिले अस्पताल पुगेका छन्। 

नजिकिँदै गरेको दसैँमा परिवार भेला हुने आशासहित सामानको जोहो गर्दै गएका माइलाले आधा परिवार गुमाए। बाँकीलाई अस्पतालमा भेट्नु पर्‍यो। 

अस्पतालको बेडमा दर्दनाक पीडा झेलिरहेका माइलालाई अब कहाँ जाने भन्ने प्रश्नले पिरोल्यो।

‘अब छोराले गाउँ नजाऊँ भन्छ। काठमाडौंतिरै डेरा खोजेर बस्ने कि, अन्तै जाने? मेरो यो हालत छ, काठमाडौँ गएर पनि के खाने?’ त्यसपछि उनी भक्कानिएर बोल्न सकेनन्। फोन ज्वाइँलाई दिए। 

ज्वाईं सरेशले भने, ‘भाइ (सालो) भर्खरकै अल्लारे छ। गाउँमा घर बनाएर राखिदिऊँ भने पनि अब घर बनाउने खालको जग्गै छैन। अन्त कहाँ पठाउने र, दुःख परे पनि अहिले त हामीसँगै लैजानु पर्ला। सकेसम्म हामीले नै हेर्नु पर्‍यो नि अब पछि सोच्दै जाउँला।’

माइलाका कान्छा भाइ कमल र बुहारी मलेसियामा थिए। बुबाआमासहित ८ जना पहिरोमा परेपछि उनीहरू पनि फर्किएका छन्। साइँला भाइ–बुहारी र छोराछोरी भक्तपुरमा बस्छन्। 

तर गाउँमै बसेका माइलाका बाबु–आमा, श्रीमती, माइला भाइ र बुहारी, उनीहरूका दुई छोरी र एक छोरा पहिरोमा बिलाए।

थप स्टोरी :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .