ad ad

समाज


मुस्ताङबाट ११ दिन लगाएर काठमाडौँ आइपुगे च्याङ्ग्रा, व्यवसायी भन्छन्– उपत्यकामा मासु कमी हुन दिँदैनौँ

मुस्ताङबाट ११ दिन लगाएर काठमाडौँ आइपुगे च्याङ्ग्रा, व्यवसायी भन्छन्– उपत्यकामा मासु कमी हुन दिँदैनौँ

खसी व्यापारी सन्तोष राई र कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीनवराज खतिवडा


नेपालखबर
असोज १८, २०८१ शुक्रबार १४:२५, काठमाडौँ

अघिल्लो साता परेको अविरल वर्षापछि उपत्यका प्रवेश गर्ने राजमार्गमा गएको पहिरोका कारण यसवर्ष दसैँमा काठमाडौँमा खसी, बोका, च्याङ्ग्रा, भेडाको अभाव हुने हो कि भन्ने चिन्ता सर्वसाधरणमा देखिन्छ। 

तर, कलंकी खसी बजार व्यवस्थापन समितिले भने उपत्यकामा अघिल्लो वर्षजस्तै मासुको कमी हुन नदिने बताएको छ। समितिका व्यवस्थापक जीनवराज खतिवडाले समिति बनाएर खसी वितरण भइरहेको ३१ वर्षजस्तै यसवर्ष पनि आपूर्तिमा कमी हुन नदिने दाबी गरे। 

विपद्का कारण सडकको अवस्था कठिन भएपछि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरू ल्याउने काम भइरहेको बताए। 

‘अहिलेसम्म हामीले काठमाडौँ उपत्यकाको मागको लगभग ७० प्रतिशत आपूर्ति यहीँबाट भएको छ। चाडपर्वलाई लक्षित गरी विभिन्न जिल्लाहरूबाट काठमाडौँमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने गरेका छौँ,’ खतिवडाले भने, ‘मध्यपहाडी क्षेत्रका जिल्लाहरूबाट खसी, बोकाहरू ल्याउने गरेका छौँ। बाढी, पहिरो आएर जुन असहज परिस्थिति आयो, पश्चिमतिरका जिल्लाबाट ल्याउन कठिन छैन।’

मूल्य पनि अघिल्लो वर्षकै आसपासमा खरिदबिक्री हुने अनुमान समितिको रहेको छ। 

अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म छ। 

रसुवा र तातोपानी नाका नखुलेसँगै च्याङ्ग्रा मुस्ताङबाट मात्रै ल्याउनुपरेकाले केही महंगो हुने उनको अनुमान छ। 

‘मूल्य पनि पोहोरकै आसपासमा खरिदबिक्री हुने जस्तो हामीले सोचेका छौँ। खसीको मूल्य ६ सयदेखि ७४० सम्मको लगभग पोहोरकै छ,’ उनले भने, ‘रसुवा नाका खुल्ने भएकाले त्यताबाट पनि च्याङ्ग्रा आउने हुँदा केही मूल्य घट्ने भन्ने हामीले आश गरेका थियौँ। तर तातोपानी र रसुवाको नाका पनि बन्द भएकाले मुस्ताङको मात्रै हुँदा च्याङ्ग्रामा केहीमूल्य बढ्ने अवस्था छ।’

विगतमा दसैँलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका बिक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा बिक्री हुने अनुमान गरेको उनले बताए।

गतवर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा बिक्री गरेको उनले सुनाए। 

खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौँ ल्याएको बताए। 

च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको उनले बताए। खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ बिक्री भइरहेको उनले बताए।

‘च्याङ्ग्रा हामीले जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेका छौँ। खसी ६ सयदेखि ७२० सम्म छ। बोका ६५० देखि ७ सयसम्म छ। च्याङ्ग्रा वर्षमा एकपटक आउने भएकाले अलि महंगै पर्छ,’ उनले भने, ‘बाटोमा पहिरो गएको छ, अहिले आउन गाह्रो छ। बेणीबाट ११ दिन लाग्यो। मुस्ताङबाट आएको च्याङ्ग्रा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .