ad ad

समाज


काठमाडौँबाट १९ जना यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो

काठमाडौँबाट १९ जना यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो

नेपालखबर
असोज १८, २०८१ शुक्रबार ९:१०, काठमाडौँ

सिन्धुलीको कमलामाईमा दसैँका यात्रु सवार इक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

काठमाडौँबाट १९ जना यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका- ८ भिमाननजिकै सिस्नेरी भन्ने ठाउँमा दुर्घटनामा परेको हो। 

दुर्घटनामा माइक्रोका चालकसहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए। 

‘घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी काफ्लेले नेपालखबरसँग भने, ‘बाँकी ६ जना घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अन्य सवारी साधनमा चढेर गन्तव्यतर्फ लागेका छन्।’

दुर्घटनामा माइक्रोबसका चालक अनुप सुन्दास पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए। 

माइक्रोमा १९ जना सवार थिए। तीमध्ये चारजना सकुशल छन्। चालक निदाउँदा अथवा तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। माइक्राे सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ। 

काठमाडौँ-धुलिखेल-सिन्धुली- भिमान हुँदै पूर्व जाने सवारी साधन बीपी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै पूर्वतिर गइरहेका छन्।

पूर्वतिर जाने साना सवारी साधन हाल त्रिभुवन राजपथ सडकअन्तर्गत चन्द्रागिरि-चित्नाङ-पालुङ-हेटौँडा-भिमान-कटारी-गाईघाट-चतरा हुँदै चलिरहेका प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .