ad ad

समाज


तोयानाथको नियति : कसले जन्मायो नै थाहा छैन, आफूले जन्माएकालाई पनि दसैँको मुखमा क्रसरको खाल्डोले निल्यो

तोयानाथको नियति : कसले जन्मायो नै थाहा छैन, आफूले जन्माएकालाई पनि दसैँको मुखमा क्रसरको खाल्डोले निल्यो

बायाँबाट क्रमश भूपेन्द्र, तोयानाथ दम्पती र रामचरण


रुपक चौलागाईं
असोज १८, २०८१ शुक्रबार २१:४९, काठमाडौँ

तोयानाथको उमेर ३७ वर्ष भयो। जीवनको यो कालखण्डसम्म आफूलाई कसले जन्म दिएको हो भन्ने पनि उनलाई थाहा छैन। 

२०४४ सालमा मोरङको केराबारी–८ स्थित आमजुंगीमा तोयानाथको जन्म भएको थियो। उनी नरेन्द्र थापाको घरमा जन्मिए। 

नाताले नरेन्द्र तोयानाथका मामा हुन्। आमजुंगी उनको मामाघर हो। तर, मामाघर नै उनको जन्मदेखि कर्मसम्मको घर बनाइदियो परिस्थितिले।

तोयानाथकी आमा अर्थात् नरेन्द्रकी दिदी शिवकुमारी कसैको दबाबमा परिन्। उनले कुनै एक पुरुषको गर्भ बोकिन्। तर, ती पुरुषले शिवकुमारीलाई धोका दिए र गाउँ छाडेर हिँडे। 

त्यसपछि नरेन्द्रकै परिवारले शिवकुमारीको संरक्षण गर्‍यो। तोयानाथ जन्मिए। न्वारनमा उनको नाम त राखियो। थर राख्न सकस पर्‍यो। 

मामा नरेन्द्रका अनुसार, कर्मकाण्ड खुलाउनकै लागि पण्डितहरूकै सल्लाहमा त्यतिबेला एकजना चौलागाईं थर गरेका व्यक्तिले उनको न्वारन गरिदिए। 

त्यसयता, तोयानाथको नामको पछाडि ‘चौलागाईं’ थर राख्न थालियो। 

मामाघरमै तोयानाथ जसोतसो हुर्किए। आमा शिवमाया पनि २०६१ सालमै अस्ताइन्। 

नरेन्द्रलाई ठ्याक्कै सम्झना त छैन तर १२–१३ वर्षको उमेर हुँदा तोयानाथले पनि मामाघर छाडे। 

गाउँकै केही साथीहरूको लहलहैमा तोयानाथ भारतको सिक्किम पुगे। मामाघरमा जन्मिएका उनको कर्मथलो करिब १२ वर्षसम्म सिक्किम लगायतका भारतीय भूभाग बनेको मामा नरेन्द्र बताउँछन्।

भारतमै रहँदा उनले देविकासँग बिहे गरे। भारतमै उनी दुर्घटनामा पनि परे।

मोरङ फर्कने क्रममा तोयानाथ बाटोमै दुर्घटनामा परेको र त्यहीँका केही स्थानीयले उनलाई उपचारपछि नेपाल फर्काएको मामा नरेन्द्रले बताए।

त्यसयता तोयानाथ मोरङमै छन्। मावलीहरूकै सहयोगमा आफ्नो गुजारा जसोतसो गरेर बसे। 

बिहीबार (असोज १६) दिउँसो उनको जीवनमा अर्को नसोचेको घटना घटिदियो। जन्म दिएको बाबु अहिलेसम्म पत्ता लगाउन नसकेका तोयानाथले आफूले जन्म दिएका दुई छोरा पनि गुमाए। 

तोयानाथका भानिज भाइ विकास थापाका अनुसार, बिहीबार दिउँसो वडा नम्बर ८ मै रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर तोयानाथका दुई छोरा रामचरण र भूपेनको ज्यान गएको हो। 

कृष्ण क्रसरले बनाएको खाल्डो, जहाँ रामचरण र भूपेनले ज्यान गुमाए

कृष्ण क्रसर केराबारी गाउँपालिका पूर्वपालिका अध्यक्ष रोहित कार्कीसहितको समूहले सञ्चालन गर्छ। 

स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो। गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो। तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन्।

रामचरण र भूपेन सोही वडामा रहेको आमाजुंगी आधारभूत विद्यालयमा अध्ययन गर्छन्। विद्यालयमा परिवारले उपलब्ध गराएको विवरण अनुसार, रामचरणको जन्म २०७७ जेठ १५ गते भएको थियो भने भूपेन २०७४ असार १९ गते जन्मिएका थिए। 

शुक्रबार घटस्थापनाको दिन विद्यालय बन्द थियो। घरमा बुवाआमाको आँखा छलेर खेल्न निस्किएका उनीहरूले केही पर पुगेपछि पानी जमेको खाल्डो देखे। 

खाल्डो देखेपछि गर्मीमा लुगा फुकालेर हाम फाले। खाल्डोमा हाम फालेका ७ वर्षीय भूपेन्द्र र ४ वर्षीय रामचरण त्यहाँबाट निस्किएनन्।

तोयानाथकी एक छोरी पनि छिन्, मनिका। उनी १० वर्षकी भइन्। मनिकाले सँगै खेल्दै हुर्किएका दुई भाइ गुमाएकी छिन्।

दुई सन्तान खाल्डोमा गुमाएका तोयानाथले शुक्रबार दिनभर सरकारी कार्यालय र अस्पताल धाए।

आफूले जन्म दिएर हुर्कँदै गरेका छोराहरूको पोस्टमार्टम र आवश्यक प्रक्रिया पूरा गरेर अहिले काजकिरियाको काम गर्दै छन्। 

उनलाई मावलीकै आफन्तले आवश्यक सरसहयोग गरिरहेका छन्।

तर, आमजुंगीका स्थानीयको मनमा त्रास बढेको छ। क्रसरले खनेको खाल्डोमा आज त रामचरण र भूपेन अस्ताए। यही दिन आफ्नै छोराछोरीले पनि भोग्नुपर्ने पो हो कि?

‘क्रसरहरूको लापरबाहीका कारण अब त हामीलाई कसरी बालबच्चा जोगाउने भन्ने धौधौ पर्न थाल्यो, यसको जवाफ राज्यले नदिने?’ मलिन स्वरमा गुनासो गर्दै विकासले प्रश्न गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .