ad ad

समाज


दुर्गा प्रसाईँका समर्थकले झापामा ३ वटा भारतीय ट्रक जलाए

ट्रक चालक घाइते, प्रसाईँको महाअभियानका २ नेता पक्राउ
दुर्गा प्रसाईँका समर्थकले झापामा ३ वटा भारतीय ट्रक जलाए

नेपालखबर
असोज ७, २०८१ सोमबार १२:२९, काठमाडौँ

आइतबार भक्तपुरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकले आज झापामा तीनवटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेका छन्।

प्रसाइँलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गरेका उनका समर्थकले ट्रक जलाएका प्रहरीले जनाएको छ। झापा प्रसाइँको गृह जिल्ला हो। 

बिर्तामोडस्थित बीएण्डसी अस्पताल तथा मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले आइतबार भक्तपुरको कमेरेटारस्थित घरबाटै पक्राउ गरेको थियो। 

प्रसाइँ पक्राउको विरोधमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आइतबार विज्ञप्ति निकाल्दै आज झापा जिल्ला भर यातायात बन्द गर्ने घोषणा गरेका थिए।

सोही समूहले गएराति कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा र आज बिहान बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा तीनवटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए। 

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको टोलीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको छ।

आगलागी घटनामा भारतको पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो घाइते भएका छन्। दाहिना हातको पाखुरामा जलेर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रसाईँ पक्राउ परेसँगै झापा प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बलका मेची अञ्चल संयोजक दुरेन राईलाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .