ad ad

समाज


वडाध्यको मृत्युको छानबिन सीआईबीबाट गर्न गृहमन्त्रीसँग माग

के छ गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा?
वडाध्यको मृत्युको छानबिन सीआईबीबाट गर्न गृहमन्त्रीसँग माग

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १२:२२, काठमाडौँ

महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट गर्न सर्वपक्षीय समितिले गृहमन्त्रीसँग माग गरेको छ। 

नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताले गृहमन्त्री रमेश लेखकलाई भेटेर घटनाको छानविन गर्न माग गरेका हुन्। 

वडाध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो। 

गृहमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा मोटरसाइकल दुर्घटना यादवको मृत्यु भएको नभई हत्या भएको हुनसक्ने आशंका गरिएको छ। सर्वक्षीय समितिले पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि घटनाको अनुन्धानको लागि पहल गर्न आग्रह गरेका छन्। 

अध्यक्ष प्रचण्ड र गृहमन्त्री लेखकलाई एकै बेहोराका ज्ञापन पत्र बुझाउँदै समितिले घटनाको छानविन सीआईबीबाट गर्न माग गरेको हो। 

भदौ ८ गते साँझ केही शंकास्पद व्यक्तिहरुले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएजस्तो नदेखिएको, पोष्टमार्टम रिपोर्टबाट टाउको र छातिमा चोट देखिएको, टाउको र छातिमा वजनदार वस्तुले प्रहार भएको पाइएको, मोटरसाइकलको हेल्टेमटमा केही क्षति नभएको बरु हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा राखिएको आदि कारणले दुर्घटना नभई हत्या भएको हुनसक्ने ज्ञापनपत्रमा उल्लेख छ।

शवको पोष्टमार्टमका लागि काठमाडौँ लगिएपछि अर्को दिन शंकास्पद व्यक्तिलाई प्रहरी सामान्य सोधपुछ गरेर छाडेको भन्दै यी विभिन्न परिस्थिति, वातावरण, शवको प्रकृति, समय र मुकेशसँग सम्पर्कमा रहन पुगेका व्यक्तिसँग गम्भीरतापूर्वक छानविन गरेमा सत्यतथ्य पत्ता लाग्ने ज्ञापनपत्रमा उल्लेख छ।

तर, प्रहरी प्रशासन यसप्रति गम्भीर नभएकाले केन्द्रीय अनुसन्धान ब्यूरोबाट नै छानविनका लागि पहल गरिदिन डेलिगेन टोलीले प्रचण्ड र गृहमन्त्रीसँग आग्रह गरेका हुन्।

सर्वदलीय डेलिगेसनमा माओवादी केन्द्रका सचिव तथा मधेस ब्युरो इन्चार्ज लीलामणि पोख्रेल, नेपाली कांग्रेसका नेता महेन्द्र कुमार राय, जसपा नेपालका नेता डा।सुरेन्द्र कुमार यादव, माओवादी केन्द्रका नेता भरत साह लगायत परिवारका सदस्य सहभागी थिए।। 

के छ गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा?

माननीय गृहमन्त्री ज्यू,
नेपाल सरकार
गृहमन्त्रालय, सिंहदरबार, काठमाडौँ। 
विषयः संयुक्त ज्ञापन पत्र

महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको यही भदौ ८ गते राति भएको रहस्यमय मृत्युले हामीलाई स्तव्ध बनाएको छ। भदौ ९ गते बिहान महोत्तरीको बर्दिबास नगरपालिका-१२ को सडक छेउमा मोटरसाइकलसँगै यादवको शव फेला परेको थियो। उक्त घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु भएको जस्तो देखिँदैन। 

तपसिल
मृतकको परिचय 
नामः मुकेशकुमार यादव
वर्षः ४०
ठेगानाः रामगोपालपुर नगरपालिका– २ महोत्तरी
पदः निर्वाचित वडाध्यक्ष, रामगोपालपुर–२
संलग्न पार्टीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)। माओवादी केन्द्र रामगोपालपुर नगर कमिटी सचिवालय सदस्य। 
व्यक्तिगत स्वभावः मृदुभाषी तथा अल्पभाषी, मिलनसार, अरुलाई सहयोग गर्न रुचाउने। हक्की स्वभाव, निडर, आँटिलो।
घटना भएको दिनः ८ भदौ, २०८१ राति। मृत अवस्थामा देखिएको ९ भदौ २०८१ बिहान। बिहान ५ः३० बजे मर्निङवाकमा गएकाहरुले सुरुमा देखेपछि प्रहरी र पार्टीलाई खबर भएको। 
घटनाको पृष्ठभूमिः भदौ ८ गते साँझ ७ बजेतिर। ८ गते सञ्जीव झा (शिक्षक, जग्गाको कारोबारी, निज झा ७–८ महिनाअघि सम्सी गाउँपालिकामा होटेलमा यौन धन्दा चलाएकोमा दुईजना युवतीसहित आपत्तीजनक अवस्थामा गिरफ्तार भई केही समयअघि छुटेको)ले खाजा खान भनेर बर्दिबास बोलाएको, तर एक्लै आउन भनेको। 
–बर्दिबासको राजु होटलमा दिलिपकुमार मण्डल र थर नखुलेका पहाडी मूलका युवतीहरु (रिना र दुर्गा) पनि साथमै रहेका। 
–दुईमध्ये एकजना युवती सम्सीको होटेलबाट गिरफ्तार भएकी थिइन्।
–पाँचै जनाले त्यहाँ रक्सीसमेत खाएर राति साढे ८ बजेसम्म बसेका।
–त्यसपछि दुई युवतीसहित गौरीडाँडामा रहेको एचबी स्टार होटलमा जाउँ भनी झाले मुकेशलाई कर गर्दा उनी जान नमानेको। (होटल सञ्चालकले भने बमोजिम)
–घर फर्कंन ढिला गरेपछि श्रीमतीले फोन गर्दा नउठेको।
–झाको श्रीमती र मुकेशको श्रीमतीबीच सम्बाद हुँदा झाको श्रीमतीले आफू झासँगै रहेको भनेको। 
–मुकेशको श्रीमतीले राति करिब ११ बजेतिर झालाई फोन गर्दा झर्केर मुकेश घर गैसक्यो। किन फोन गरेको? भन्दै फोन काटेको। त्यसपछि श्रीमतीले फोन गर्दा मुकेशको फोन नउठेको। रातभरि यत्तिकै बित्यो। 
–भदौ ९ गते बिहान मर्निङवाक गर्न गएका व्यक्ति मोहनजी यादवले देखेपछि काठमडौँमा भएको रामबाबु चौधरी र प्रहरीलाई फोन गरेको। त्यसपछि पार्टी र अन्य जनताले खबर पाएपछि प्रहरी शव भएको ठाउँमा पुगेको देखिन्छ। 
–शव भएको स्थान नजिकै करिब एकसय मिटर भन्दा कम दुरीमा काठ चिरान मिल रहेको, मिलमा बत्ती बलिरहेको र मानिसहरु पनि बसेको। उनीहरुले मोटरसाइकल ठोक्किएको वा दुर्घटना भएको भन्ने कुनै आवाज नसुनेका। 
–प्रहरीले शव भएको थलोमा आएर एकैपटक दुर्घटना भनेर मुचुल्का बनाउन थाल्दा घटनास्थलमा उपस्थित (सबै प्रकारका) मानिसले प्रतिवाद गरेका। त्यसपछि कर्तब्य ज्यानको प्रायोजित घटना भएको हुनसक्ने आशंकासहित मुचुल्का तयार पार्न भनेको। कुनै कतैबाट उक्त स्थानमा दुर्घटना भएको जस्तो नदेखिएको। 
–बहालवाला, लोकप्रिय निर्वाचित जनप्रतिनिधिसमेत रहेकोले गहन तरिकाले छानविन होस् भनी स्थानीयसमेतले माग गरेका।
मृतकको शव रहेको अवस्था
घाउचोट, कथित घटनास्थल, मोटरसाइकल, जुत्ता, हेल्मेट, मोवाइल, मोटरसाइकल ठोकिएको भनिएको कल्भर्टवाल, नजिकै चिरान मिल, रातको अवस्था, खानपिन, लेनदेन, राजनीतिक व्यक्तित्व आदिले दुर्घटनाबाट मृत्यु भएको देखिँदैन। 
स्थलगत प्रकृति यस प्रकार छः
१. शव सडकको पूर्वपट्टी कल्भर्टवालको मुनितिर टाउको कल्भर्टवालतर्फ रहेको। देब्रे कोल्टे पारेर सुताएको अवस्थामा शव रहेको। 
२. मृतकको दाँयाबाँया छात्तीमा घिस्रिएको प्रकारको पूरै छात्तीभरीको घाउ देखिन्छ। त्यो घाउ मोटरसाइकल दुर्घटनाबाट भएको देखाउन बनाइएको जस्तो छ। तर, निजले लगाएको भित्री गञ्जी र सेतो टीसर्टमा कुनै प्रकारको माटोको दाग र घर्षणबाट च्यातिएको छैन र छात्तीको रगत पनि लागेको छैन। 
३. मोटरसाइकल ठोक्किएको भनिएको कल्भर्टको वालबाट उप्किएको सिमेन्टको टुक्रा गएको ठाउँको उचाई मोटरसाइकलको ह्यान्डिल वा लेगार्डसँग मिल्दैन। 
४. मोटरसाइकल भाइजर कल्भर्टवालमा ठोक्किएको भए छरिनुपर्ने थियो। त्यो नभएर भाइजरका टुक्राहरु एकै ठाउँमा थुप्रो लागेको छ।
५. मोटरसाइकलको नम्बर प्लेट सहिसलामत अवस्थामा छ। नम्बरप्लेट ढलेको मोटरसाइकलको पछाडिको चक्कामाथि राखिएको अवस्थामा छ। 
६. मोटरसाइकल ठोकिएर लडेको भए शव उछिट्टिएर कि उत्तानो कि घोप्टो पर्छ शरीरको सन्तुलन मिलाउन। तर, त्यसो नभै कोल्टे परेको अवस्थामा शव छ। 
७. शव खसेको ठाउँमा गहिरोमा खस्दा डिल र शव नजिकैको घाँस माडिनुपर्ने थियो, तर त्यहाँ घाँस मडिएको थिएन। 
८. पोष्टमार्टम रिपोर्टअनुसार मृत्युको कारण टाउकोको चोट र छात्तीको चोट भनिएको छ। शव लडेको स्थानमा टाउकोको चोटबाट बग्नुपर्ने रगत बगेको देखिँदेन। छात्तीमा बजनदार बस्तुले प्रहार गर्दा हुने दवाबले गर्दा करिब आधा लिटरजति आन्तरिक रक्तश्राव भएको भन्ने छ। 
९. मोटरसाइकल लडेको अवस्थामा र शव लडेको अवस्थामा र धरातलीय स्थितिले टाउको र छात्तीमा एकैपटक चोट लाग्ने अवस्था देखिँदैन।  
१०. मृतकले लगाएको पेन्टको दाहिने खुट्टाको तिघ्रामा कुनै बुट वा मोटरसाइकल वा गाडीको चक्का गुडेको डाम देखिन्छ। 
११. देब्रे खुट्टाको जाँघमा पेन्ट च्यातिएको र खुट्टामा गहिरो प्रकारको निलडाम तथा छालाभित्र रक्तश्रावको घाउ देखिन्छ। 
१२. दुवै खुट्टाका जुत्ता फरक फरक ठाउँमा थिए। एउटा सडकको बीच भागमा र अर्को शवका नजिकै देखिन्छ। खल्ती मोवाइल खस्ने प्रकृत्तिको छैन। तर, मोवाइल जमिनमा थियो। 
१३. मृतकको दाहिने हातको औँलामा बालुवा टाँसिएको छ। तर घटनास्थल भनिएको ठाउँमा घाँस छ। बालुवा छैन। 
१४. अगाडि पट्टीका चक्कामा इँटाको धुलो टाँसिएको छ। तर, वरिपरी कतै इँटाको धुलो वा इँटा नै छैन। यसले इँटाभट्टा वरिपरी घटना गराइएको भन्ने देखिन्छ। 
 १५. मोटरसाइकलको गेयर ५ मा राखेर स्टार्ट बन्द गरिएको अवस्था छ। गुडिरहेको मोटरसाइकल ठोक्किएको भए स्टार्ट बन्न हुने अवस्था रहँदैन। 
१६. हेलमेट र त्यसको सिसामा ठोक्किएको निशाना र क्षति केही भएको छैन। बरु हेलमेट लकसहित निकालेर थपक्क राखेको जस्तो अवस्थामा छ। 
१७. शवको अवस्था, मोटरसाइकलको स्थिति, भाइजर, सिसाको थुप्रो, जुत्ता र मोबाइल रहेको स्थान र अवस्था, टाउको र छात्तीको घाउ, नम्बर प्लेटको स्थिति, हेलमेट आदिको स्थिति र मृतकको स्वभाव, उनको सामाजिक, राजनीतिक स्थिति, घटनाक्रम, सञ्जिव झाले एक्लै आउ भनेर गरेको फोन, मृतककी श्रीमतीले फोन गर्दा झर्केर घर गैसक्यो भनेको, कैयन पटक फोन गर्दा पनि फोन नउठ्नु, सञ्जिव झासँग लिनुपर्ने पैसाको हिसाब किताव (७–८ महिनाअघि सम्सीको होटलमा यौन धन्दा गराएको आरोपमा प्रहरीले छापा मारेर गिरफ्तार गर्दा धरौटी वा घुस खुवाउन सञ्जिबले मुकेशबाट लिएको भनिएको १६ लाख रुपैयाँ) बारे त्यहाँ चर्चा भएको थियो। हक्की स्वभाव, लोकप्रियता आदिको मिश्रित पृष्ठभूमिभित्र कुनै एक वा अनेक मृत्युको कारण बनेको हुनसक्छ। र, शव भएको स्थान हेर्दा त्यो कृतिम दुर्घटन प्रतित हुन्छ। 
१८. दुर्घटना भएको भनिएको स्थानको नजिकै एक सय मिटर भन्दा कम दूरीमै काठ चिरान मिल रहेको तर, उक्त मिलमा मानिसहरु बस्ने गरेका। मोटरसाइकल ठोक्किएको भए रातको समयमा ठूलो आवाज आउँथ्यो। र नजिकैका मानिसले थाहा पाउने थिए। तर, त्यहाँ त्यस्तो केही नभएको। 
१९. उक्त घटना भएर शव पोष्टमार्टमका लागि काठमाडौँ लगिएपछि अर्कोदिन सञ्जिव झालाई प्रहरीले सामान्य सोधपुछ गरी छोडेको। 
यी विभिन्न परिस्थिति, वातावरण, शवको प्रकृति, सयम र मुकेशसँग सम्पर्कमा रहन पुगेका व्यक्तिसँग गम्भीरतापूर्वक छानविन गरेमा सत्यतथ्य पत्ता लाग्न सक्छ। प्रहरी प्रशासन यसप्रति गम्भीर नभएको आशंका पैदा भएको छ। यस्तो अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरोले यो घटनालाई हालतमा लिएर अनुसन्धान गर्नेतर्फ ध्यानाकर्षण होस् भन्ने हाम्रो अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .