ad ad

राजनीति


वडाध्यक्षको रहस्यमय मृत्यु प्रकरण: छानबिनमा सहयोग गर्न प्रचण्डसँग सर्वपक्षीय समितिको माग

वडाध्यक्षको रहस्यमय मृत्यु प्रकरण: छानबिनमा सहयोग गर्न प्रचण्डसँग सर्वपक्षीय समितिको माग

नेपालखबर
भदौ १८, २०८१ मंगलबार ११:४२, काठमाडौँ

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर- २ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानबिनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले माग गरेका छन्। 

नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताले मंगलबार बिहान अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन माग गरेका हुन्। 

वडाध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो। 

घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटना नभई हत्या भएको हुनसक्ने भन्दै प्रचण्डसँग घटनाको अनुन्धानको लागि पहल गर्न माग गरिएको हो।

भदौ ८ गते साँझ केही शंकास्पद व्यक्तिहरुले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएजस्तो नदेखिएको, पोष्टमार्टम रिपोर्टबाट टाउको र छातिमा चोट देखिएको, टाउको र छातिमा वजनदार वस्तुले प्रहार भएको पाइएको, मोटरसाइकलको हेल्टेमटमा केही क्षति नभएको बरु हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा राखिएको आदि कारणले दुर्घटना नभई हत्या भएको हुनसक्ने ज्ञापनपत्रमा उल्लेख छ।

शवको पोष्टमार्टमका लागि काठमाडौँ लगिएपछि अर्को दिन शंकास्पद व्यक्तिलाई प्रहरी सामान्य सोधपुछ गरेर छाडेको भन्दै यी विभिन्न परिस्थिति, वातावरण, शवको प्रकृति, समय र मुकेशसँग सम्पर्कमा रहन पुगेका व्यक्तिसँग गम्भीरतापूर्वक छानबिन गरेमा सत्यतथ्य पत्ता लाग्ने ज्ञापनपत्रमा उल्लेख छ।

तर, प्रहरी प्रशासन यसप्रति गम्भीर नभएकाले केन्द्रीय अनुसन्धान ब्युरोबाट नै छानबिनका लागि पहल गरिदिन डेलिगेसन टोलीले प्रचण्डसँग आग्रह गरेका हुन्।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले सो घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन्। 

मधेस–तराई क्षेत्रमा रहेको सुरक्षा चुनौतीबारे आफू जानकार रहेको र अवस्था सुधारका लागि आफू सरकारमा रहँदा सूक्ष्म ढंगले अभियान चलाएको प्रचण्डले बताए। 

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षको मृत्यु र तराईमा भैरहेका हत्या हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर निस्पक्ष छानबिनको निम्ति  सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धतासमेत उनले व्यक्त गरेका छन्।

सर्वदलीय डेलिगेसनमा माओवादी केन्द्रका सचिव तथा मधेस ब्युरो इन्चार्ज लीलामणि पोख्रेल, नेपाली कांग्रेसका नेता महेन्द्र कुमार राय, जसपा नेपालका नेता डा.सुरेन्द्र कुमार यादव, माओवादी केन्द्रका नेता भरत साह लगायत परिवारका सदस्य सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .