ad ad

समाज


योगेशले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेपछि संसद्‌मा हंगामा

व्यवसायीलाई खोलाबाटै चन्दा उठाएर भगाएको आरोप
योगेशले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेपछि संसद्‌मा हंगामा

नेपालखबर
भदौ १२, २०८१ बुधबार १५:३१, काठमाडौँ

नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रतिनिधि सभा बैठकमा ‘हिंसा’ शब्द प्रयोग भएपछि हंगामा भएको छ। बुधबारको बैठकमा विद्युत् प्राधिकरणले उठाउन बाँकी रहेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे भनाइ राख्ने क्रममा सांसद भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए। 

उनले माओवादीको १० वर्षे सशस्त्र युद्धलाई ‘हिंसा’ को संज्ञा दिएका थिए। 

‘यदी यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युत्मा यो भन्दा ठूलो क्रान्ति हुन्थ्यो,’ योगेशले भनेका थिए, ‘किनभने, माओवादीले कतिवटा ट्रान्समिसन लाइन र सवस्टेशनहरू पड्कायो। विद्युत् उत्पादन गर्न खोलामा गएका कति व्यवसायीलाई चन्दा उठाएर भगायो।’

माओवादी युद्धकै कारण असुरक्षा भएको दाबी गरेका थिए। 

‘असुरक्षाको कारणले लगानी भएन। अध्ययनले के भन्छ भने– यदी माओवादीको १० वर्षको त्यो हिंसा नभएको भए ७५ सालमा होइन, ६५ सालमा यो देशमा लोडसेडिङ मुक्त हुने थियो,’ उनले भनेका थिए। 

सांसद भट्टराईले राखेको उक्त भनाइप्रति नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आपत्ति जनाए। 

प्रतिनिधिसभा नियमावलीको २५ मा रहेर आफ्नो नियमापत्ति रहेको उनले बताए। ‘बोल्दै गर्नुभएको माननीयले गैरसंसदीय र अमर्यादित शब्द बोल्नुभएको छ। त्यसकारण नियमापत्ति गर्छु, माइक पाउँ,’ उनले भनेका थिए। 

त्यसपछि सभामुखले ध्यानाकर्षण भएको बताउँदै आसन ग्रहण गर्न भने। सांसद सापकोटाले माइक पाएनन्।

त्यसपछि सांसद सापकोटाले भने, ‘उहाँले हिंसा भन्ने शब्द प्रयोग गर्नुभएको छ।’

सापकोटाले हिंसा भन्ने शब्द प्रयोग भएकोमा आपत्ति जनाएपछि भट्टराईले फेरि भने, ‘हिंसै हो नि सभामुख महोदय! हिंसै हो नि।’

त्यसपछि सभामुख देवराज घिमिरेले निर्धारित कार्यक्रममा जान आग्रह गरे। तर, योगेश यतिमै रोकिएनन्। 

उनले फेरि भने, ‘माननीयज्यूले हिंसा मान्नुहुन्नँ, तर त्यो हिंसै हो। हिंसा हो, हिंसा हो, हिंसै हो।’

उनले हिंसा शब्दलाई आफ्नो पार्टीको परिभाषाको रुपमा अर्थ लगाए। 

‘यो हाम्रो परिभाषा हो। उहाँले मान्नैपर्छ भन्ने छैन। उहाँले नमाने पनि हुन्छ। केही फरक पर्दैन,’ योगेशले थप भने। 

उता, प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू झनै आक्रामक देखिए। उनीहरूले ‘मान्दैनौँ’ भन्दै आपत्ति जनाए। 

त्यसपछि सांसद भट्टराईले फेरि सोही कुरा दोहोर्‍याए।

‘अर्कोलाई बोल्न नदिनु पनि हिंसै हो। यो लोकतन्त्रमा बोल्ने कुरा हुन्छ,’ उनले भने।

प्रतिपक्षी बेञ्चमा बसेका माओवादी सांसद र सत्तापक्षमा रहेका एमाले सांसदहरूबीच भनाभन नै सुरु भयो। 

‘तपाईं ंिहसा स्वीकार्नुहुन्छ?,’ सांसद सापकोटाले प्रश्न गरेको सुनिन्छ। 

फेरि योगेशले भन्छन्, ‘हो त्यो पनि हिंसानै हो। हिंसै हो। तपाईंले धम्की दिएर हुँदैन। तपाईंले धम्की दिएर कोही डराउँदैन। हिंसा हो।’

उनले लोकतन्त्रमा बोल्न नपाएको भन्दै माओवादी सांसदहरूले संसद्‌मा पनि हिंसा गरेको दाबी गरे।

‘लोकतन्त्रमा बोल्न नदिनु हिंसा हो। हिंसा नै हो। यहाँपनि हिंसा भएको छ। त्यसकारण हिंसा नगर्नुस्,’ उनले भने। 

त्यसपछि सभामुख घिमिरेले माओवादीका अर्का सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए।

‘विभिन्न प्रकारका आन्दोलनको समीक्षा गरेका छौँ। कुनैपनि त्यस प्रकारको आनदोलनलाई हिंसा भनिएको छैन। तपाईंले यस प्रकारका शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातलीय अधिकार संविधानले दिँदैन। योगेश भट्टराईले प्रयोग गर्नुभएको शब्द हटाउन आग्रह गर्छु,,’ उनले भने। 

त्यसपछि सभामुख घिमिरेले योगेशलाई बोल्न समय दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .