समाज


साउनको अन्तिम सोमबार कति लाख भक्तजन पशुपतिनाथ पुगे?

साउनको अन्तिम सोमबार कति लाख भक्तजन पशुपतिनाथ पुगे?

नेपालखबर
साउन २९, २०८१ मंगलबार ७:१०, काठमाडौँ

साउनको अन्तिम सोमबार (हिजो) दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति ८ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए। 

सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका  कारण पनि पनि सोमबार मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए।

दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले सोमबार मन्दिरका चारवटै ढोका बिहानैदेखि खुला गरेको थियो।

साउनमा हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा आराधना र महिमा गाउने गर्छन्। यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ।

ठूलो सङ्ख्यामा दर्शनार्थी उपस्थित भएपछि सुरक्षाकर्मी एवं स्वयमसेवकको सङ्ख्या पनि बढाइएको थियो।

भक्तजनको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए। 

सोमबार काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनका बिहानैदेखि भीड लागेको थियो। 

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए।

उनका अनुसार साउनमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने चलन छ। बोलबम मधेसी समुदायले बढी मान्ने भए पनि पछिल्लो समय अन्य समुदायका भक्तजन पनि सहभागी भइरहेका छन्।

सोमबार नेपाल भ्रमणमा नेपालका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। उनी सोमबार साँझ नै स्वदेश फर्किसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad