सामान्यतः ५ न्यायाधीशसम्मको इजलास गठन गर्ने सर्वोच्च अदालतमा आज एउटा मुद्दा सुनुवाइका लागि ९ न्यायाधीशको इजलास गठन गरेको छ।
सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्धको मुद्दा सुनुवाइ गर्न सर्वोच्चले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीशको बृहत् इजलास गठन गरेको हो।
जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन्।
सिधाकुराले प्रसारण गरेको विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।
सोही मुद्दाको छिनोफानो गर्न गत जेठ ३० गते न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले दिएको आदेशबमोजिम आज बृहत् आकारको ९ सदस्यीय इजलास गठन गरिएको हो।
उक्त इजलासले सिधाकुराविरुद्धको मुद्दा अहिले सुनुवाइ गरिरहेको सर्वोच्चका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
डा. केसीको मुद्दामा सर्वोच्चले उदार दृष्टिकोण राखी अवहेलना मुद्दामा नजिर कायम गरेको थियो।
न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले गत जेठ ३० गते जारी गरेको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा पेस हुन आएको भिडिओ क्लिप, मोबाइल फोनमा डाउनलोड गरिएको विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोकल्पित रूपमा सिर्जित भई सोही विवादस्पद संवादको आधारमा सर्वोच्च अदालतका न्यायाधीश, विद्वान् कानुन व्यवसायी, सञ्चार क्षेत्र एवं सम्मानित व्यक्तित्वउपर लाञ्छना लगाउने, मानमर्दन गर्ने कार्य भएको हो वा होइन? तथ्यपरक एवं सत्य, साँचो विचार र अभिव्यक्ति स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रतासमेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षसमेत निर्देश हुनुपर्ने आवश्यकता छ।’
सिधाकुरामा प्रसारित सामग्री कपोलकल्पित भन्दै आदेशमा दण्ड सजाय, क्षतिपूर्तिसमेतको समुचित सम्बोधन हुन अत्यावश्यक देखिएको पनि आदेशमा उल्लेख छ।
‘भविष्यमा समेत स्वःकल्पित, स्वःसिर्जित वा अफवाहजनक घटनारवारदात खडा गरी न्यायाधीशरन्यायालय, कानुन व्यवसायी, सम्मानित व्यक्तित्वहरूलगायत सर्वसाधारणको मान प्रतिष्ठामा गम्भीर आँच पुर्याउने गरी हुन सक्ने कार्य, प्रकाशन वा प्रसारण एवं विचार अभिव्यक्तिको सम्भावना, दण्ड सजाय, क्षतिपूर्तिसमेतको समुचित सम्बोधन हुन अत्यावश्यक देखिएको’ आदेशमा भनिएको छ।
Shares
प्रतिक्रिया