ad ad

समाज


त्रिशूलीमा खसेर बेपत्ता बस तथा यात्रु खोजीमा आजदेखि भारतीय टोली पनि

त्रिशूलीमा खसेर बेपत्ता बस तथा यात्रु खोजीमा आजदेखि भारतीय टोली पनि

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८१ शनिबार ११:४९, काठमाडौँ

नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र बससँगै बेपत्ता यात्रुको खोजीमा आजदेखि भारतको खोज तथा उद्धार टोली पनि खटिने भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली बेपत्ता बस तथा यात्रुको खोजीमा खटिने भएको हो। 

गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलतर्फ लागिसकेको र अब बढीमा एक घण्टापछि घटनास्थल आइपुग्ने उनले आज बिहान ११ बजेर ३८ मिनेट जाँदा नेपालखबरलाई जानकारी दिए। 

‘टोली आजैदेखि खटिनेछ’, डीएसपी रिजालले भने। 

पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित भारती उद्धार टोली नेपाल आएको हो। उनीहरूले तीनवटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका छन्। नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो। 

अहिलेसम्म २५ जनाको शव फेला परेको छ। अझै ३७ यात्रु भेटिन बाँकी छ। 

यही असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका थिए। 

दुवै बसमा गरी ६५ जना रहेको स्थानीय प्रशासनले जनाएको छ। जसमध्ये तत्कालै पौडिएर ३ जनाले ज्यान जोगाए भने अरू बेपत्ता भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .