ad ad

समाज


त्रिशूलीमा हराएको हरायै भए ८ गाडी र ८२ यात्रु

४२ यात्रु बोकेको बस, पूर्वगृहमन्त्री माधव घिमिरे सवार स्कोर्पियोसहित ३२ वर्षमा त्रिशूलीमा कति बिलाए?
त्रिशूलीमा हराएको हरायै भए ८ गाडी र ८२ यात्रु

उजिर कार्की
साउन ४, २०८१ शुक्रबार २२:१२, काठमाडौँ

८ दिनअघि दुईवटा गाडीसहित त्रिशूलीमा खसेका ३७ यात्रु अझै बेपत्ता छन्। चितवनको सिमलतालदेखि भारतका नहरसम्म खोज्दा सुरक्षाकर्मीले बेपत्ता ६२ मध्ये २५ जनाको शव फेला परेका छन्। तर तीमध्ये १० वटा शवको सनाखत भइसकेको छैन।

यी यात्रु बोकेर गएका दुई वटै बस भेटिएका छैनन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपाने भन्छन्, ‘अझै केहीको त फेला पर्ला, तर सबैको शव भेटिने सम्भावना न्युन हुँदैछ।’

नदीले बगाएर भारत पुर्‍याएका शव भारतीय सीमा सुरक्षा बल एसएसबीले फेला पार्न थालेको छ। शुक्रबार साँझ भारतको पश्चिम चम्पारण बगाहास्थित नहरमा एसएसबीले एउटा शव फेला पार्‍यो यसअघि बिहीबार पनि एसएसबीले भारतीय भूमिमै दुईवटा शव भेटेको थियो। 

अहिले त्रिशूलीमा दुर्घटनामा परेकाहरूको खोजीकार्य नेपाल र भारतकै नदी किनारमा भइरहेको छ। बेपत्ताको शव भेटिने सम्भावना कम भएकै कारण सरकारले १० दिनसम्म पनि बेपत्ता भएकाहरूका परिवारलाई मृतकसरह नै राहत दिने निर्णय गरेको छ।

सशस्त्र प्रहरी प्रवक्ता न्यौपाने भन्छन्, ‘अब बेपत्ताको शव नेपालमै त भेटिने सम्भावना कम छ। तर सरकारले स्थगित नभनेसम्म हामी खोजी कार्य जारी नै राख्छौँ।’

यसअघि पनि त्रिशूलीमा खसेका ४५ जना मानिस हराएको हरायै छन्। ६ वटा गाडी पनि अझै नभेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

त्यसरी त्रिशूलीमा बिलाउनेमा पूर्वगृहमन्त्रीदेखि सुरक्षाकर्मीसम्म छन्।

२०७३ असोज ९ गते मुस्ताङबाट काठमाडौँ फर्किंदै गरेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार स्कोर्पियो चितवनको घोप्टेभिरबाट त्रिशूलीमा खस्यो।  

मुक्तिनाथ दर्शन गरेर फर्किंदै गरेका माधव भाइहरू प्रकाश र मनमोहनसँगै त्रिशूलीमा बिलाए। उनी चढेको बा ९ च १५३१ नम्बरको गाडी पनि भेटिएन।

नेपालका सुरक्षाकर्मी र गोताखोरसहितको टोलीले फेला पार्न नसकेपछि बंगलादेशबाट पनि गोताखोर झिकाइएको थियो। तर बंगलादेशबाट आएका गोताखोर माथिबाटै त्रिशूली हेरेर फर्किए। नदीमा पसेनन्। 

अहिलेसम्म पनि घिमिरेका तीन दाजुभाइ र गाडी फेला परेका छैनन्। अब भेटिने सम्भावना नै नरहेको डीआईजी न्यौपाने बताउँछन्। 

त्यसको ९ महिनापछि अर्को स्कोर्पियो र ट्रक त्रिशुलीमा खसे। २०७४ असार ९ गते प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित ४ जना सवार सकोर्पियो ट्रकसँगै दुर्घटनामा परेर त्रिशूलीमा खसेको थियो। त्यहाँ रहेका चारै जनाको शव फेला परे पनि ना १ झ १३९० नम्बरको स्कोर्पियो र ना ५ ख ७८२७ नम्बरको ट्रक त्रिशूलीमै बिलाए। 

२०७९ सालमा तीन महिनाको फरकमा दुईवटा गाडी र एक जना मानिस पनि त्रिशूलीले निल्यो। वैशाख २५ गते ग १ त ४८९८ नम्बरको ट्रयाक्टर चालकसहित खसेको थियो। चालक मगर सिंह चेपाङ र ट्रयाक्टर अझै फेला परेका छैनन्। 

साउन २८ गते ना ७ ख ७१०३ नम्बरको ट्रक खस्यो। चालक सकुशल रहे। तर ट्रक भने हराएको हरायै भयो। 

३२ वर्षपहिले ४२ यात्रु लिएर झापाबाट काठमाडौँतर्फ जाँदै गरेको बस पनि कृष्णभीर नजिकबाट यात्रुसहित बिलायो। 

२०४९ सालमा भएको यो घटनामा बसमा रहेका सबै ४२ जना यात्रु फेला परेनन्। गाडीको चिनो पनि फेला परेन। स्वाभिमान परिवहन नामक बस त्रिशूलीमा हराएपछि नेपालका सुरक्षाकर्मीले खोजी गरे। त्यतिबेला सशस्त्र प्रहरीको स्थापना नै भएको थिएन। नेपालमा तालिमप्राप्त जनशक्तिको अभाव थियो।  

बंगलादेशबाट गोताखोरसहितको टोली ल्याएर खोजी गरियो। तर विदेशी टोलीले पनि भेट्टाउन सकेन। 

‘अहिलेसम्म जति पनि बस र मानिसहरू हराए, त्यो त्रिशूलीको बहाव र गहिराइको कारणले गर्दा हो। हाम्रा प्राविधिक दक्ष टोलीले यही भनेका छन्। अहिले हराइरहेकाहरू र बस नभेटिनुको कारण चाहिँ बाढी र लेदोसहितको पानी भएर पनि हो, जसका कारण हामीसँग भएको प्रविधिले पनि राम्रो नतिजा दिन सकेन,’ डीआईजी न्यौपानेले नेपालखबरसँग भने। 

सशस्त्र प्रहरीका अनुसार यी ८ वटा दुर्घटनामा परेका ८२ जनाको शव अझै फेला परेको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .