ad ad

समाज


यस वर्ष कञ्चनपुरमा भएको वर्षा नेपालको इतिहासमै ठूलो : मौसम विभाग

यस वर्ष कञ्चनपुरमा भएको वर्षा नेपालको इतिहासमै ठूलो : मौसम विभाग

फाइल फाेटाे : कञ्चनपुर


नेपालखबर
असार २५, २०८१ मंगलबार १८:२१, काठमाडौँ

यस वर्ष नेपालको इतिहासमै ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा यही असार २४ गते बिहान मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो। 

‘मिति २०८१/०३/२४ गते बिहान ८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्यांकअनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि. (मिलिमिटर), हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको थियो’, विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो। यसअघि मिति २०७४/०४/२९ गते (सन् २०१७ अगस्ट १३० हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भूसंरक्षण विभागको तथ्यांकअनुसार मिति २०५०/०४/०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ वर्षा केन्द्रमा ५४०० मि.मि. वर्षा मापन गरिएको थियो।’

किन भयो त यति ठूलो वर्षा? 
मौसम विभागका अनुसार वायुमण्डलीय तथ्यांक, भूउपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यूनचापीय रेखा सरदर स्थानमा रहेको भए तापनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकास भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रही अरब सागर तथा बंगालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको देखिन्छ।

यस वर्ष पानी पार्ने मौसम प्रणाली मनसुन नेपालमा औसत मितिभन्दा ३ दिन छिटो जेठ २८ गते अर्थात् जुन १० तारिखका दिन कोसी प्रदेशको पूर्वी क्षेत्रमा भित्रिएको थियो। 

यसको १० दिनपछि अर्थात् जुन २० तारिख कोसी प्रदेशका सबै क्षेत्रमा, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश स्थानमा र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुन पुगेको थियो

अनि यसको ४ दिनपछि असार १० गते अर्थात् जुन २४ तारिखका दिन मनसुन देशभर फैलिएको थियो। 

मौसम विभागका अनुसार मनसुन असार १४ देखि २४ गतेसम्म सक्रिय भएको थियो। यसै क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभागमा असार २३ र २४ गते अति भारी (हालसम्मकै सर्वाधिक) वर्षा भएको हो। 

हेर्नुहोस् मौसम विभागको विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .