ad ad

समाज


देशैभर फैलियो मनसुन

राति कहाँ कस्तो छ वर्षाको सम्भावना?
देशैभर फैलियो मनसुन

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार १०, २०८१ सोमबार १८:९, काठमाडौँ

आज (सोमबार) दिउँसोदेखि पानी पार्ने मौसम प्रणाली मनसुन देशभर फैलिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले सोमबार (असार १० गते) विशेष बुलेटिन जारी गरी मनसुनी प्रणाली सातै प्रदेशमा विस्तार भएको जानकारी दिएको हो।  

‘यस वर्षको मनसुन प्रणाली आज मिति २०८१/०३/१० (२४ जुन २०२४) गतेका दिन देशभर फैलिएको छ’, बुलेटिनमा भनिएको छ। 

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा ३ दिन छिटो जेठ २८ अर्थात् जुन १० का दिन कोसी प्रदेशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो। 

यसको १० दिनपछि अर्थात् जुन २० तारिख कोसी प्रदेशका सबै क्षेत्रमा, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश स्थानमा र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुन पुगेको थियो

यस वर्ष मनसुन प्रवेश गरेपछि देशभर फैलिन १५ दिन लागेको छ। 

हेर्नुहोस् विशेष बुलेटिन

यसैबीच हाल (सोमबार साँझ) देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा कतै बाक्लो त कतै पातलो बादल) छ भने कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

यस क्रममा राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।

मौसम महाशाखाले राति काठमाडौँमा पानी पर्ने सम्भाावना (चान्स) ४० प्रतिशत रहेको देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .