ad ad

समाज


शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने, ‘अति भारी वर्षा’को सम्भावना

आइतबारसम्म सतर्क रहनुहोला : मौसमविद्
शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने, ‘अति भारी वर्षा’को सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार २०, २०८१ बिहिबार १९:४६, काठमाडौँ

केही दिनयता देशभर सक्रिय मनसुन (पानी पार्ने प्रणाली) शुक्रबारदेखि अझ सक्रिय हुने र वर्षाको मात्रा बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज (बिहीबार) साँझ मनसुन विशेष मौसम बुलेटिन-३ जारी गर्दै शुक्रबारदेखि वर्षा अझ बढ्ने सम्भावना देखिएकाले बाढी, पहिरोजस्ता जोखिमबाट बच्ने उपाय अपनाउन आम नागरिकलाई आग्रह गरेको हो। 

‘विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुन थालेकाले २०८१/०३/२० सम्म सतर्कताका लागि मिति २०८१/०३/१६ मा मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो’, बुलेटिनमा भनिएको छ, ‘सो न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले मिति २०८१/०३/२३ गते आइतबारसम्म सतर्कताका लागि आज (असार २० गते) यस विशेष बुलेटिन जारी गरिएको छ।’  

बुलेटिनअनुसार शुक्रबार (असार २१ गते) देखि आइतबार (असार २३ गते) सम्म  देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना छ।

बुलेटिनमा सजग गराउँदै अघि भनिएको छ, ‘तसर्थ भोलि मिति २०८१/०३/२१ गते शुक्रबारदेखि मिति २०८१/०३/२३ गते आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।’

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ। 

यो पनि : यी प्रदेशमा वर्षा जारी, २४ घण्टाका लागि चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .