कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरी आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गरेका छन्।
नागरिकता विवादमा मंगलबार जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि सिरोहियाले विज्ञप्ति जारी गर्दै सहकारी ठगीबारे कान्तिपुरमा आएको समाचार शृंखला रोक्न आफूप्रति प्रतिशोध साँधिएको जिकिर गरेका हुन्।
‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु’, उनले भनेका छन्। तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन’, उनले विज्ञप्तिमा भनेका छन्, ‘कान्तिपुरको समाचार रोकाउन, ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन। यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन।’
कसैको नाम नलिईकन सिरोहियाले सहकारीको रकम अपचलनबारे समाचार लेखेकै कारण आफूविरुद्ध राज्यको पदाधिकारीले पक्राउ पुर्जी जारी गराउन लगाएको आरोप लगाएका छन्।
उनले प्रश्न गरेका छन्, ‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्– दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो? अर्को प्रश्न– जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो?’
यसमा सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्ने अपेक्षा उनले गरेका छन्।
यसमा सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्ने अपेक्षा उनले गरेका छन्। सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूविरुद्ध अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु सञ्चारमाध्यमको जिम्मेवारी भएको उल्लेख गर्दै कान्तिपुरको खबरदारी नरोकिने प्रतिबद्धता जनाएका छन्।
‘राज्य शक्ति र स्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ’, सिरोहियाले विज्ञप्तिमा भनेका छन्, ‘कान्तिपुरको पहिचान र विरासत यही हो।’
सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरविरुद्ध विगतमा पनि हस्तक्षेप भएको र आफू जेलसमेत गएको उल्लेख गर्दै सिरोहियाले यस घटनाबाट पनि आफू विचलित नुहने बताएका छन्।
‘निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ’, उनले भनेका छन्, ‘म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन।’
Shares

प्रतिक्रिया