ad ad

समाज


विपद् व्यवस्थापन समितिको बैठक जहाजभित्र

विपद् व्यवस्थापन समितिको बैठक जहाजभित्र

नेपालखबर
चैत ८, २०८० बिहिबार २१:९, धनकुटा

विपद् व्यवस्थापनका लागि ध्यानाकर्षण गराउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक हवाई जहाजभित्र बसेको छ। पाख्रिबास नगरपालिकाको वनभोजस्थलमा निर्मित हवाइजहाज बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक पुण्यविक्रम पौडेलले जानकारी दिए।

उनले खडेरी र वर्षात्को मौसमसँगै सुरु हुने विपद् र क्षतिप्रति सबैलाई सजग गर्न समितिको बैठक प्रमुख पर्यटकीयस्थल सनसारीमाई सिमसार क्षेत्रमा सम्पन्न भएको बताए। आम नागरिक र सरोकारवालालाई दैवी प्रकोप तथा विपद्का विषयमा जागरुक बनाएर यसको न्यूनीकरण गर्न नयाँ तरिकाले बैठक राखिएको उनको भनाइ छ।

चालक बस्ने हवाइजहाजको अघिल्लो भागमा स्थानीय तहका प्रमुख र यात्रु बस्ने सिटमा विपद्सम्बन्धी काम गर्ने जिल्ला तथा अन्तर्गतका सात वटै स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको थियो।

बैठकमा भएको छलफलका सहभागीले सडक दुर्घटना, आगलागी, बाढीपहिरो, विद्युतीय सुरक्षा लगायतका विषयमा सरोकारवालालाई कार्ययोजना बनाएर कार्यान्वयनको लागि सुझाव दिएका थिए।

विभिन्न विषयमा भएको छलफलपछि समितिले मनसुन प्रतिरक्षा योजना र विपद् प्रतिरक्षा योजना बनाउने जिम्मा नेपाल रेडक्रस सोसाइटी धनकुटालाई दिइएको छ।

बैठकमा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बू, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राई र पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले आफ्नो स्थानीय तहमा विपद न्यूनीकरणका लागि भइरहेको प्रगतिका बारेमा जानकारी दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .