ad ad

समाज


भ्रष्टाचार मुद्दा लागेका भीम उपाध्याय भन्छन्- स्वदेश फर्किनासाथ अदालतमा उपस्थित हुन्छु

भ्रष्टाचार मुद्दा लागेका भीम उपाध्याय भन्छन्- स्वदेश फर्किनासाथ अदालतमा उपस्थित हुन्छु

फाइल फाेटाे : भीम उपाध्याय


नेपालखबर
फागुन ७, २०८० सोमबार ६:५७, काठमाडौँ

पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफूविरुद्ध दायर भ्रष्टाचार मुद्दामा स्वदेश फर्कनासाथ अदालतमा उपस्थित हुने बताएका छन्। 

उनले हाल आफू विदेशमा रहेको बताएका छन् तर कुन देशमा भनेर उल्लेख गरेका छैनन्। 

मेलम्ची खानेपानी विकास बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

मेलम्ची खानेपानी विकास बोर्डको अध्यक्ष रहेका बेला उनले ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ ९२ पैसा बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो। 

यस विषयमा सामाजिक सञ्जालमार्फत आरोपित उपध्यायाले प्रतिक्रिया दिएका हुन्।

‘नेपाल जागेको बेला म सुतेको थिएँ। उठ्दा नेपाल सुतिसकेको छ। उठेपछि समाचार थाहा भयो, मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ’, उनले लेखेका छन्, ‘खैर विशेष अदालतमा मुद्दा परिसकेको छ। विषय प्राविधिक बनेको छ। बदनीयत नभई फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन। स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने नै छु।’

उपाध्ययायले आफू निर्दाेष रहेको दाबी गर्दै शुभचिन्तकहरूलाई विचलित नहुन सुझाव दिएका छन्। 

‘म ३ करोड नेपालीका सामू ढुक्कसँग भन्छु– मबाट देशहितको कामबाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन, त्यो पनि काकाकुल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनून्। मिटिङमा चिया–खाजा, त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन’, उनले भनेका छन्, ‘मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिलेकाहीँ भाइरस लागेर रुघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ। मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन।’ 

यस्तो छ उनको पूरा प्रतिक्रिया

नेपाल जागेको बेला म सुतेको थिएँ। उठ्दा नेपाल सुतिसकेको छ। उठेपछि समाचार थाहा भयो,  मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ।

मैले डेढ वर्षअघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ।

यो मुद्दा दायर गर्न पर्ने विषय नै हैन, प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको इस्यु मात्र हो भनेको थिएँ। तर अख्तियारले आफ्नो व्याख्यात्मक अधिकार प्रयोगगरेर मुद्दा दायर गरेछ।

मुद्दामा रत्ति दम छैन। अधिकार हुनेले अधिकारको दुरुपयोग गर्न सक्छन्। यसको दोष लिने कुरा हुँदैन।

मेलम्ची टनेल प्रोजेक्ट कूल रु ८ अर्बको ठेक्का हो, राज्यको हिनामिना ७ अर्ब भएको भनेर मुद्दा परेको भनिएको रहेछ।

अभियोजनको डिटेल अझै अध्ययन गर्न पाएको छैन। मसँग सोधिएको कुरा तपाईं अध्यक्ष भएको मेलम्ची विकास बोर्डका ५ सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिनाब्याज पेस्की दिएको भनिएको हो, जति रकम पेस्की दिएको छ, त्यसको ब्याज राज्यलाई हानी गर्‍यो भनिएको रहेछ। त्यो पेस्कीको ब्याज र ब्याजको स्याज वर्षौँको जोडेर बिगो कायम गरेको बुझियो।

अरूको बारेमा मलाई खास थाहा भएन, तर मेरो बारेको कुरा यति रहेछ। म ०७३ कार्तिकदेखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको थिएँ, त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष थिएँ।

म ३ करोड नेपालीका सामु ढुक्कसँग भन्छु- मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन, त्यो पनि काकाकूल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनून्। मिटिङमा चिया-खाजा, त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन।

रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ।

खैर विशेष अदालतमा मुद्दा परिसकेको छ। विषय प्राविधिक बनेको छ। बदनियत नभई फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन। स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने नै छु।

मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिलेकाहीँ भाइरस लागेर रुघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ। मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन। 

बुझ्नुस्-  रु ८ अर्बको ठेक्कामा रु ७ अर्बको भ्रष्टाचार? त्यो पनि सबै प्रक्रिया र बैंक ग्यारेन्टी लिएर दिएको पेस्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याजसमेत जोडी निकालिएको हिसाब रकम हानि-नोक्सानी गरेको आरोपमा! त्यो पनि बोर्डको अध्यक्ष जसको कुनै कार्यकारी अधिकार हुँदैन, प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको अनुमोदन प्रस्ताव अनुमोदन गर्दा!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .