ad ad

राजनीति


देउवासँग गगनको अडान : गठबन्धन र निर्वाचनबारे मेरो फरक मत रहन्छ

देउवासँग गगनको अडान : गठबन्धन र निर्वाचनबारे मेरो फरक मत रहन्छ

नेपालखबर
फागुन ७, २०८० सोमबार ७:२२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच सोमबारदेखि सुरू हुने महासमिति बैठकमा पेश गर्ने दस्तावेजलाई लिएर विवाद भएको छ।

करिब २ हजार जना सहभागी हुनेगरि सोमबार दिउँसोदेखि सुरू हुने महासमिति बैठकका लागि पेश गरिने दस्तावेजबारे मत नमिल्दा दुई नेताबीच समस्या भएको हो।

दस्तावेजमा उल्लेखित महामन्त्रीहरूको शब्दबारेमा सभापति देउवा असहमत भएपछि संशोधन गरेर ल्याउन भनेका थिए। कोसी प्रदेशको राष्ट्रिय सभा निर्वाचन र आगामी निर्वाचनमा गठबन्धनलाई लिएर बिमति देखिएको हो।

यस्तोमा देउवाले ती शब्द सुधार गरेर ल्याएपछि मात्रै महासमितिमा प्रस्तुत गर्न सकिने बताएका थिए।

आइतबार साँझ बूढानीलकण्ठ तीन नेता बसेपछि कुरा नमिल्दा महामन्त्री थापा केही नेतासँग अलग्गै बसेका थिए। 

'महामन्त्रीजी अलग्गै बस्नु भएको थियो। नेताहरूसँग छलफल गर्नुभएको छ', ती नेताले भने, 'सभापतिज्यूले मिलाउनु भन्न भएको छ। त्यही भएर बाहिर बस्नु भएको हो।'

महामन्त्री थापाले चुनावी गठबन्धन र निर्वाचनबारे सभापतिसँग आफ्नो रिजर्भेसन रहेको बताएका थिए। 

तर अर्का विश्वप्रकाश शर्माले व्यक्तिगत मत राख्नुस् तर पार्टीको मत साझा बनाएर संस्थागत लैजानुपर्ने सुझाएका थिए।

आसन्न महासमिति बैठकमा पेस गर्न लेखिएको सांगठनिक प्रतिवेदन र समसामयिक राजनीतिक विषयमा राखिएका केही शब्द मिलाउन देउवाले निर्देशन दिएका थिए। त्यसपछि दुवैसँग आइतबार साँझ संवाद गरे।

महासमितिमा पेस गर्न लेखिएका ती दस्तावेज आइतबार सकिएको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि राखिएको थियो।

महामन्त्री शर्माले महासमितिमा पेस गर्न समसामयिक राजनीतिक प्रतिवेदन तयार पारेका छन्। यसमा पनि तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमितिमा छलफल भएको थियो।

दुवैजना महामन्त्रीले आइतबार बिहान सभापति देउवालाई भेटेर आफ्ना प्रतिवेदनबारे धारणा मागेका थिए।

तर, देउवाले प्रतिवेदनमा परेका केही शब्द सच्याएर ल्याउन निर्देशन दिएका थिए। यसअघि कार्यसमिति बैठकमा पनि दुवै प्रतिवेदनमा रहेका केही शब्द र सन्दर्भ सच्याउनुपर्ने देउवाले बताएका थिए। बैठकको उद्घाटन देउवाले गर्नेछन्।

थापाको सांगठनिक प्रतिवेदनमा अबका चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने कुरा राखेको भन्दै देउवाले त्यसलाई हटाउन भनेका थिए।

'विधान, निर्वाचन प्रणाली र अहिलेको वर्तमान गठबन्धनतिर नलागौँ भनेर सभापतिजीले अप्रासंगिक विषय धेरै परेको छ नराख्न सभापतिले भन्नुभएको हो', कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने।

उनका अनुसार, त्यसपछि महामन्त्रीद्वयले सभापति देउवासँग केही समय मागेका थिए। महासमिति बैठक सोमबार दिउँसो १ बजेदेखि ललितपुरको गोदावरीस्थित सिटी हलमा हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .