सानैदेखि उनी ऐनाअघि उभिन्थिन्। आफूलाई कहिले हिरोइनका रूपमा कल्पिन्थिन्, कहिले गीतको तालमा छमछमी नाच्थिन्। गाउँ-सहरका सिनेमा घरको ठूलो पर्दामा एकदिन आफ्नै अनुहार देख्ने सपना उनका आँखामा बिस्तारै आकार लिँदै थियो। चम्किला लाइट र क्यामराको ‘एक्सन-कट’ बीच जीवन रंगाउने त्यही सपना बोकेर उनी मधेसबाट काठमाडौँ आइपुगिन्। उनी अर्थात् नेपाली, मैथिली, भोजपुरी र थारु म्युजिक भिडिओमार्फत आफ्नो अभिनयको छाप छोडिरहेकी काजल कर्ण।
तर सपनाको उडान सधैँ आकाशसम्म पुग्दैन। कहिलेकाहीँ त्यो जात, थर र पहिचानको भित्तामा ठोक्किएर भुइँमै बजारिन्छ। काजलको सपना पनि यतिबेला त्यही भित्तामा ठोक्किएको छ। सुटिङ सेटमै जातीय र समुदायगत विभेदको सामना गर्नुपर्दा उनका आँखामा यतिखेर ठूलो पर्दाको चमक होइन, अपमानका आँसु भरिएका छन्।
हालै ‘चिरञ्जीवी भवः’ फिल्मको सुटिङका क्रममा उनले जे भोगिन्, त्यो एउटा कलाकारलाई फिल्मबाट हटाइएको घटना मात्र होइन, त्यो नेपाली फिल्म क्षेत्रभित्र अझै जीवित रहेको जातीय पूर्वाग्रह अनि मधेसी र मधेसी समुदायप्रतिको हेपाहा दृष्टिकोणको तीतो यथार्थ पनि हो।
कुनै पनि कलाकारका लागि आफ्नो कामबाट निकालिनु पीडादायी हुन्छ, तर जब निकालिनुको कारण कला नभएर उसको जात र समुदाय बन्छ, तब त्यो घाउ निको हुन निकै समय लाग्छ। काजलले केही दिनअघिमात्रै जब ‘मधेसी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ...’ शीर्षकमा लामो फेसबुक स्टाटस राखिन्, त्यसले नेपाली फिल्म क्षेत्र तरंगित बनेको छ।
नेपालखबर सो ‘लेट्स टक’मा आफ्नो अनुभूति सुनाउन आइपुगेकी काजल यो तितो भोगाइ बाध्य भएर बाहिर ल्याएको बताउँछिन्।
‘यो स्टाटस मैले यो घटना हुनेबित्तिकै लेख्छु भन्ने सोचेकै थिइनँ,’ उनले भनिन्, ‘जब म सुटिङको सेट इटहरीबाट विराटनगर घरतिर निस्किएँ, सिटी चढेर बसपार्क गएँ। बसमा बस्दा पनि यो धेरै ठूलो कुरा होइन भनेर सोचिरहेकी थिएँ। तर घर पुग्दा-नपुग्दासम्म त्यो कुराले बिस्तारै मलाई प्रभाव पारिरहेको थियो। घर पुगेपछि म न सुत्न सकेँ, न खान सकेँ।’
आफ्नो आमाको अगाडि पीडा लुकाउन खोज्दा पनि नसकेको क्षण सम्झँदै उनले अगाडि भनिन्, ‘ममीले सोध्नुभयो- ‘तँ त ब्याग लिएर गएकी थिइस्, किन फर्किस्? सुटिङ सकिएको हो?’ त्यतिमै म रून थालेँ। मलाई अति नै धेरै बेइज्जत भए जस्तो महसुस भयो।’

काजलका अनुसार विभेद सुटिङ सेटमा पुग्नु अगाडि नै सुरु भइसकेको थियो। काठमाडौँको सुटिङमा लुगा आफैँ म्यानेज गर्न लगाउनु र इटहरी पुगेपछि मुख्य अभिनेत्री र अन्य कलाकारबीच गरिने व्यवहारमा आकाश-पातालको फरक हुनुले उनलाई झस्कायो।
उनको अनुहारको रंगलाई लिएर गरिएको टिप्पणी सबैभन्दा बिझाउने थियो।
‘मेकअपमा हिजो अलि धेरै नै डार्क गर्नुभयो, थकित देखिन्छ भनेर भन्दा ‘हैन, यो क्यामराको लागि हो, क्यामरामा राम्रो देखिन्छ’ भनियो,’ उनले बेलिविस्तार लगाइन्, ‘मलाई पनि बेसिक कुरा त थाहा थियो मेकअपको। हड्डीमा लगाउने कन्टोर अनुहारभरी दलिँदै छ, कालो देखाउन। मलाई थाहा भयो- जानीजानी तराईको पात्र हो भनेर डार्क देखाउन खोजियो।’
सुटिङ सेटमा उनलाई अपमानित गर्ने उद्देश्यले मेकअप आर्टिस्ट विक्रम गौतमले भनेको कुराले उनको मुटु छियाछिया बनायो।
काजल सम्झिन्छिन्, ‘उहाँले मतिर हेरेर भन्नुभयो- तिमी त यहीँको हौ। तिमीलाई थाहा होला नि भैँसीलाई कसरी बोलाउने? एकचोटि बोलाएर देखाऊ त।’ मैले उल्टै प्रतिप्रश्न गरेँ- मलाई किन थाहा हुनुपर्छ, कसरी? उहाँले के सोचेर त्यत्रो मान्छेको अघि मलाई त्यसो भन्नुभयो, अहिलेसम्म म उहाँको त्यो प्रश्नको जवाफ पर्खिरहेकी छु।’
अधिकांश नेपाली फिल्ममा मधेस र मधेसी पात्रहरूको ‘स्टेरियोटाइप्ड’ चरित्र चित्रण गरिने प्रवृत्तिप्रति काजलको ठूलो गुनासो छ। फिल्ममा उनलाई दिइएको क्यारेक्टर स्क्रिप्ट रिडिङमा एउटा थियो, तर सेटमा पुग्दा अर्कै बनाइयो।
उनी भन्छिन्, ‘सुरुमा स्क्रिप्ट रिडिङमा अर्कै क्यारेक्टर थियो, त्यहाँ गएपछि चाहिँ त्यहाँको स्टाफ हो कि नोकर हो कि के हो, अर्कै बनाइदिनुभयो। हेयर स्टाइलिस्ट संचिता दिदीले भन्नुभयो- तिमीहरूको क्यारेक्टर गाईगोठाला हो, यहाँ आश्रममा काम गर्ने हो, काम गर्ने क्यारेक्टरको मेकअप र हेयर यस्तै त हुन्छ।’

नेपाली फिल्मकर्मीप्रति काजलको प्रश्न छ- ‘कहिलेसम्म मधेसको कलाकारलाई तपाईंहरूले यसरी नै देखाउनुहुन्छ? कि त गुण्डा, कि त पानीपुरी स्टल, कि त कमेडीको पात्र। एउटा मुख्य क्यारेक्टरमा हामीले अहिलेसम्म हेर्न पाएका छैनौँ, अपवादबाहेक। कहिलेसम्म यो ब्याड रिप्रजेन्टेसन भइरहने?’
एउटा कलाकारका लागि उसको पारिश्रमिक उसको पसिनाको मूल्य हो। तर काजलले आफ्नो पारिश्रमिक माग्दा पनि अपमान सहनुपर्यो। सम्झौता अनुसारको दोस्रो किस्ता माग्दा निर्माण पक्षले बेवास्ता गरेको उनी बताउँछिन्।
‘२५ दिन भइसक्यो पेमेन्ट आएन। म्यासेज गर्छु, सिन हुन्छ तर रिप्लाइ छैन,’ उनले भनिन्, ‘ठाडै हेपेको जस्तो फिल भयो मलाई। जब मैले पेमेन्ट नआएसम्म आउँदिनँ भनेँ, तब मात्र उनीहरूले पेमेन्ट हाले। तर सेटमा पुग्दा त मलाई थाहै नदिई अर्कै कलाकार राखिसकिएको रहेछ।’
पेमेन्ट साढे ९ बजे हाल्ने र ७ बजे नै सुटिङमा नआएको बहाना बनाएर उनलाई निकालिनु जालझेल भएको उनको दाबी छ। उनलाई अझ बढी त तब चित्त दुख्यो, जब उनलाई सुटिङ सेटमा पुगेपछि भनियो- ‘तिम्रो ड्रेस यहाँ छुटेको थियो, त्यही लिन मात्र बोलाएको हो।’
८ कक्षादेखि नै मोडलिङ र डान्समा रुचि राख्ने काजल ‘मिस पूर्वेली’को दोस्रो रनरअप भएपछि यो क्षेत्रमा हौसिएकी थिइन्। सानोमा आत्मविश्वासको कमी भए पनि यो क्षेत्रले उनलाई बोल्न सिकायो। तर, आज त्यही क्षेत्रले उनलाई आफ्नो पहिचानमाथि नै प्रश्न उठाउन बाध्य पार्यो। मैथिली म्युजिक भिडिओमा निकै लोकप्रिय छिन् उनी। ‘सुन गे पगली’, ‘गम इतने दिह पगली’, ‘चल गेले ससुरा तु स्कार्पियो से’ आदि उनले अभिनय गरेका मैथिली गीतहरू युट्युबमा लाखौँ हेरिएका छन्।

कास्टिङ काउच र अवसरका नाममा हुने मोलमोलाइको तितो अनुभव पनि उनीसँग छ। एउटा ठूलो फिल्ममा काम गर्दा फिल्मका लेखक र निर्माताले काँधमा हात हालेर नराम्रो नियत देखाएपछि उनले त्यो फिल्म नै छाडिदिएकी थिइन्।
उनी भन्छिन्, ‘यो इन्डस्ट्रीमा कसरी टिक्न चाहनुहुन्छ, त्यो तपाईंमै निर्भर छ। कसैको हात समातेर कि आफ्नो आत्मसम्मानको हात समातेर? मैले जहिले पनि आत्मसम्मान रोजेँ।’
काजल कर्ण अहिले विचलित छिन् तर पराजित छैनन्। उनलाई फिल्म क्षेत्रमा काम नपाउने डर छैन।
भन्छिन, ‘डर भएको भए म त्यो स्टाटस नै हाल्दिन थिएँ। काम पाउनु भन्दा धेरै महत्वपूर्ण मेरो लागि मेरो आत्मसम्मान हो। भगवानले हातगोडा दिएकै छन्, थुप्रै काम छ गर्नलाई। भोलि फिल्ममा काम नआए पनि मलाई टेन्सन छैन।’
हामीले उनलाई सोध्यौँ- ‘तपाईंलाई मधेसी भनेर जिस्क्याउने ती फिल्म युनिटका सदस्यहरू आज यो क्यामराबाट के भन्न चाहनुहुन्छ?’
जवाफमा उनले एउटै वाक्य भनिन्, ‘सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली। हामी एउटै हौँ, विभेद किन?’
काजल कसरी फिल्मबाट निकालिइन्। त्यसको नालीबेली थाहा पाउन हेर्नुहोस् उनीसँग गरिएको भिडिओ कुराकानी ‘लेट्स टक’:
फोटो/भिडिओ: सरोज नेपाल/नेपालखबर
Shares

प्रतिक्रिया