ad ad

समाज


मुगुमा स्वास्थ्यकर्मीलाई जातीय विभेद र यौन हिंसा : कहाँ पुगे दुई मुद्दा?

६ लाख २० हजार धरौटीमा छुटे तीन अभियुक्त
मुगुमा स्वास्थ्यकर्मीलाई जातीय विभेद र यौन हिंसा : कहाँ पुगे दुई मुद्दा?

फाइल तस्बिर : मुगु जिल्ला अदालत


नेपालखबर
माघ १६, २०८० मंगलबार १४:३४, काठमाडौँ

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा भएको मुगुमा स्वास्थ्यकर्मीलाई जातीय विभेद र यौन हिंसा गरेको घटनाका अलग-अलग मुद्दा त्यहाँको जिल्ला अदालतमा विचाराधीन छन्। 

तत्कालीन अवस्थामा मुगुको सोरु गाउँपालिका–९, खनायाँस्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा विश्वकर्मालाई जातीय विभेद गरेको एउटा र यौन हिंसा गरेको अर्काे गरी दुई मुद्दा मुगु जिल्ला अदालतमा विचाराधीन रहेका हुन्।  

स्थानीय आरोपितहरूविरुद्ध मुद्दा परेसँगै त्यहाँ असुरक्षित भएपछि अनमी तुलसा आफ्नै गृहजिल्ला कालीकोटमा काजसरुवा भइसकेकी छन्। 

तुलसालाई जातीय विभेद गरेको अभियोगमा खनायाँ स्वास्थ्य चौकीका तत्कालीन इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र स्थानीय किराना पसल सञ्चालक धनप्रसाद भट्टविरुद्ध मुद्दा परेको हो। 

जिल्ला अदालत मुगुका नायब सुब्बा तपेन्द्र सलामी मगरले उनीहरू तीनै जना धरौटीमा छुटिसकेको जानकारी दिए। उनका अनुसार न्यायाधीश दिलकुमार बर्देवाको इजलासले गत पुस २२ गते दिएको आदेशअनुसार सुरज २ लाख ८० हजार, झापु १ लाख ७० हजार र धनप्रसाद १ लाख ७० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

तुलसाले दिएको जाहेरीका आधारमा प्रहरीले झापु र भट्टलाई पुस ८ गते तथा सुरजलाई एक दिनपछि पुस ९ गते पक्राउ गरेको थियो। 

‘अहिले उनीहरू धरौटीमा रिहा भइसकेका छन्’, अदालतका नायब सुब्बा मगरले मंगलबार नेपालखबरसँग भने, ‘अब वकपत्र हुनुपर्ने तर श्रीमान् (न्यायाधीश) हुनुहुन्न, नयाँ आएपछि प्रक्रिया अघि बढ्छ।’

उनका अनुसार धरौटीमा रिहाको आदेश दिने न्यायाधीश बर्देवाको सरुवा भइसकेको छ भने अर्का न्यायाधीश मुगु आइसकेका छैनन्। ‘अब यही महिनाको अन्ततिर आइपुग्नुहुन्छ कि’, उनले भने। 

छुवाछूतको मुद्दा पीडित तुलसाले प्रहरीमा दिएको जाहेरीका आधारमा सरकारले दर्ता गराएको हो भने यौन हिंसाको मुद्दा भने तुलसा स्वयंमले मुगु जिल्ला अदालतमा दिएकी हुन्। जसका प्रतिवादी सोरु गाउँपालिका शिक्षा शाखाका प्रमुख वीरेन्द्र मल्ल हुन्। उक्त मुद्दाको प्रक्रिया पनि अघि बढिरहेको उनले बताए। 

‘केही दिनअघि अदालतबाट म्याद सूचना भएपछि उहाँ (प्रतिवादी) ले प्रतिउत्तर लाउनुभएको छ’, उनले भने, ‘यो मुद्दाको थप प्रक्रिया पनि श्रीमान् आउनुभएपछि अघि बढ्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .