ad ad

समाज


जातीय तथा यौन हिंसाका कारण मुगुबाट विस्थापित अनमी तुलसाले पाइन् कालीकोटमा काज सरुवा

जातीय तथा यौन हिंसाका कारण मुगुबाट विस्थापित अनमी तुलसाले पाइन् कालीकोटमा काज सरुवा

नेपालखबर
माघ ८, २०८० सोमबार १६:४५, काठमाडौँ

जातीय भेदभाव र यौन हिंसाका कारण मुगुको सोरु गाउँपालिका–९, खनायाँस्थित स्वास्थ्य चौकीबाट विस्थापित स्वास्थ्यकर्मी (अनमी) तुलसा विश्वकर्माले कालीकोटमा काज सरुवा पाएकी छन्।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयले काज सरुवा मिलाइदिएपछि आफू यही माघ ३ गतेदेखि कालीकोटको तिलागुफा नगरिपालिकाको स्वास्थ्य कार्यालयमा काम गर्न थालेको तुलसाले बताइन्। 

आफूलाई जातीय विभेद र यौन हिंसा गरेको आरोपमा आफ्नै दुई हाकिमसहित ४ जनाविरुद्ध मुद्दा दिएपछि तुलसा पहिलेको कार्यस्थल मुगुको सोरु गाउँपालिका–९, खनायामा असुरक्षित भएकी थिइन्। प्रहरीसहितको टोलीले उनलाई गत पुस ३ गते त्यहाँबाट उद्धार गरेर सदरमुकाम गमगढी ल्याएको थियो। 

त्यसयता अन्योलमा परेकी उनी प्रदेश सरकारले काज सरुवा मिलाएपछि अहिले आफ्नै घरपायक कालीकोटको तिलागुफा नगरपालिकाको स्वास्थ्य कार्यालयमा काम गर्न थालेकी हुन्। 

‘अहिले मलाई ३ महिनाको काज सरुवा दिनुभएको छ’, सोमबार उनले भनिन्, ‘तीन महिनाभित्र प्रदेशको निजामती सेवा ऐन आउँदै छ, आयो भने सरुवा मिलाँउँछौँ भन्नुभएको छ, ऐन आएन भने काज सरुवाको अवधि थप्छौँ भन्नुभएको छ।’

यसैबीच उनले आफूविरुद्ध छुवाछूत गर्ने तीनै जना अभियुक्त धरौटीमा रिहा भइसकेको जानकारी पनि दिइन्। तुलसाको जाहेरीका आधारमा पक्राउ परेका खनायाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही, उनकी आमा झापु शाही र स्थानीय किराना पसल सञ्चालक धनप्रसाद भट्ट धेरौटीमा रिहा भएका हुन्। 

यौन हिंसाको मुद्दामा भने मुगु जिल्ला अदालतले आफूलाई यही माघ १० गते आउन भनेको तुलसाले बताइन्। उनले मुगुको सोरु गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लविरुद्ध यौन हिंसाको मुद्दा हालेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .