ad ad

समाज


बिहेपछि पहिलोपटक घर गएकी थिइन् काठमाडौँकी सञ्जिता अधिकारी

बिहेपछि पहिलोपटक घर गएकी थिइन् काठमाडौँकी सञ्जिता अधिकारी

दुर्घटनास्थल


रासस
पुस २९, २०८० आइतबार १२:१३, बलेवा (बागलुङ)

सञ्जिता अधिकारी आगामी माघ ६ गते  बेलायत फर्किने तयारीमा थिइन्। बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकै थिइनन्। बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन्। 

दुर्भाग्य! सञ्जिताले श्रीमान्‌को जन्मथलो त टेकिन्। तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन्। 

शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जिप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन्। दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन्।

ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागिन्। दीपक पहिलेदेखि नै बेलायत बस्थे। बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन्। काठमाडौँमै बिहे भयो। उतैबाट बेलायत लगे। 

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए। झन्डै ७ वर्ष पहिलादेखि काठमाडौँ बस्न आएका दीपकको जन्मस्थान घुमेर मात्रै बेलायत जाने रहर सञ्जितालाई थियो।

लमजुङको पहाड घर छाडेर काठमाडौँ बस्ने गरेकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे।

‘घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई’, दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन्। 

उनका अनुसार सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको थियो।

यही पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए। पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले छोरेगाँउ घुमे। सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै पुस २८ मा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन्। 

सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जिप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो।

जहाँ श्रीमान्‌को गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै गाडी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो। सग्लो परिवार सवार जिप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन्।

घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएको प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए।

घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरुलाई हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ।

मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जिप रिजर्भ गरेका थिए। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .