ad ad

समाज


न्याय परिषद्ले भन्यो– थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको छ

न्याय परिषद्ले भन्यो– थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको छ

नेपालखबर
पुस १४, २०८० शनिबार १८:१७, काठमाडौँ

न्याय परिषद्ले न्यायाधीश नवराज थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको जानकारी गराएको छ। न्याय परिषदद्वारा जारी विज्ञप्तिमा न्याय परिषद् ऐन, २०७३ को दफा २१ बमोजिम सफाइ पेस गर्न सूचना दिई कारबाही प्रक्रिया चलिरहेको उल्लेख छ। 

उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश थपलियाको कार्यक्षमता, आचरण र कर्तव्य पालना नगरेको विषयमा गठित छानबिन समितिद्वारा प्रस्तुत प्रतिवेदनअनुसार उनको कारबाही प्रक्रिया अघि बढेको विज्ञप्तिमा उल्लेख छ। 

'उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा कार्यरत माननीय न्यायाधीश डा. श्री नवराज थपलियाको कार्यक्षमता, आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालन गरे नगरेको भन्ने विषयमा न्याय परिषदद्वारा गठित छानविन समितिद्वारा छानविन गरी दिएको प्रतिवेदनउपर न्याय परिषदमा छलफल भई भएको निर्णयअनुसार हाल निज न्यायाधीशलाई न्याय परिषद ऐन, २०७३ को दफा २१ बमोजिम सफाइ पेस गर्न सूचना दिई कारवाही प्रक्रिया चलिरहेको अवस्था छ,' न्याय परिषद सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

साथै छानबिनमा खटिएका न्यायाधीश र कर्मचारीमाथि आक्षेप लगाउने र विचाराधीन विषयमा अवाञ्छित प्रभाव पार्ने गरी कुनै सामग्री प्रकाशन नगर्न पनि परिषदले आग्रह गरेको छ।

यसअघि उनलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न म्याद दिइएको छ। यस म्यादभित्र उनले स्पष्टीकरण नदिएमा ‘कानुनअनुसार भई जाने’ पत्रमा उल्लेख छ।

न्याय परिषद् ऐनको दफा २१ मा आरोपित न्यायाधीशलाई संविधान, यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिएमा न्याय परिषदले कारण र आधार खुलाई मनासिव अवधि तोकी सफाइ पेस गर्ने मौका दिनुपर्ने उल्लेख छ।

यसरी दिइएको अवधिभित्र सफाइ पेस नगरेमा वा पेस गरेको सफाइ सन्तोषजनक नदेखिएमा आरोपित न्यायाधीशलाई यस ऐनबमोजिमको कुनै सजाय गर्न सक्ने कानुनी व्यवस्था छ। संविधानको धारा १४२ को उपधारा (१) को खण्ड (ग) मा न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले पदमुक्त गर्न सक्ने लेखिएको छ।

प्रचलित कानुनबमोजिम मुद्दा चलाउनुपर्ने भएमा सम्बन्धित निकायमा लेखी पठाउनुपर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।

न्यायाधीश थपलियामाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नेतृत्व र संरक्षण गरेको ‘सेटिङ गिरोह’मा रहेर मुद्दामा चलखेल गरेको आरोप छ।

विभिन्न विचाराधीन मुद्दाका झगडियासँग भेटेर ठूल्ठूलो रकम असुलेको पाइएपछि न्याय परिषदले उनीमाथि जाँजबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो।

प्रतिवेदनका आधारमा थपलियालाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गत आइतबारको न्याय परिषद्को बैठकले गरेको थियो। उनलाई जिम्मेवारीविहीन बनाएर न्याय परिषद्मा झिकाइसकिएको छ।

साथै, उनलाई सफाइ पेस गर्न अन्तिम मौका दिइएको छ।

उनीमाथि लागेका आरोपहरूको बेहोरा र छानबिनले औँल्याएका तथ्य उल्लेख गरी न्याय परिषद् ऐनबमोजिम ‘तपाईँलाई किन कारबाही नगर्ने?’ भनी पत्रमा सोधिएको थियो। 

सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .