ad ad

समाज


न्यायाधीश थपलियालाई न्याय परिषद्ले सोध्यो– तपाईँलाई कारबाही किन नगर्ने?

स्पष्टीकरण पेस गर्न १५ दिनको म्याद
न्यायाधीश थपलियालाई न्याय परिषद्ले सोध्यो– तपाईँलाई कारबाही किन नगर्ने?

नेपालखबर
पुस १२, २०८० बिहिबार १२:४०, काठमाडौँ

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नवराज थपलियालाई स्पष्टीकरणको पत्र काटेको छ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्मा झिकाउने निर्णयसँगै उनलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न म्याद दिएको छ। यस म्यादभित्र उनले स्पष्टीकरण नदिएमा ‘कानुनअनुसार भई जाने’ पत्रमा उल्लेख छ।

उनीमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नेतृत्व र संरक्षण गरेको ‘सेटिङ गिरोह’मा रहेर मुद्दामा चलखेल गरेको आरोप छ। विभिन्न विचाराधीन मुद्दाका झगडियासँग भेटेर ठूल्ठूलो रकम असुलेको पाइएपछि न्याय परिषदले उनीमाथि जाँजबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो। समितिले गत वर्ष नै प्रतिवेदन बुझाइसकेको छ।

उक्त प्रतिवेदनका आधारमा थपलियालाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गत आइतबारको न्याय परिषद्को बैठकले गरेको थियो। उनलाई बिहीबार नै जिम्मेवारीविहीन बनाएर न्याय परिषद्मा झिकाइसकिएको छ। साथै, उनलाई सफाइ पेस गर्न अन्तिम मौका दिइएको छ। 
उनीमाथि लागेका आरोपहरूको बेहोरा र छानबिनले औँल्याएका तथ्य उल्लेख गरी न्याय परिषद् ऐनबमोजिम ‘तपाईँलाई किन कारबाही नगर्ने?’ भनी पत्रमा सोधिएको छ। 

उनलाई स्पष्टीकरणका लागि १५ दिनको म्याद दिइएको छ। उनको स्पष्टीकरण चित्तबुझ्दो नभएमा वा म्यादभित्र स्पष्टीकरण नदिएमा आवश्यक निर्णय लिने न्याय परिषदका पदाधिकारीले नेपालखबरलाई जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .