सरकारी राजस्व आफ्नो निजी खातामा राख्ने मालपोत कार्यालयका कर्मचारीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।
विशेष अदालतको फैसलाविरुद्ध अख्तियार पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको हो।
मालपोत कार्यालय सिमराका तत्कालीन कार्यालय प्रमुख (नायब सुब्बा) मदनप्रसाद गुप्ता, लेखापाल युगलकिशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउत प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च पुगेको हो।
तीनैजना प्रतिवादीहरूले सरकारी राजश्व आफ्नो निजी बैंक खातामा जम्मा गरेको, कार्यालयमा संकलित राजस्व हिनामिना गरेको तथा आफू कार्यरत कार्यालयको हिसाब पनि दुरुस्त नराखेको अभियोग अख्तियारले लगाएको छ।
उनीहरूले आर्थिक बर्ष २०७५/७६ फागुन १२ गतेसम्म संकलित राजस्वमध्ये चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।
अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र उक्त ऐनको दफा ३ को उपदफा (१) को (झ) बमोजिम सजाय मागदावी लिई विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
तर ती प्रतिवादीहरूलाई सफाइ दिने गरी विशेषबाट भएको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा बिहीबार पुनरावेदन दर्ता गराएको छ।
Shares
प्रतिक्रिया