ad ad

समाज


साँदनी खोलामा पुल बनेपछि फेरियो गाउँको मुहार

साँदनी खोलामा पुल बनेपछि फेरियो गाउँको मुहार

नेपालखबर
पुस ३, २०८० मंगलबार १३:९, महेन्द्रनगर

डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो। गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका भट्ट हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले हर्षित मात्रै होइन, व्यापार बढाउन हौसिएका छन्।

परशुराम नगरपालिकाभित्र भौगोलिक रुपले विकास साँदनी गाउँ आवातजावत गर्न विगतमा भोग्नुपरेको बाध्यता हटेसँगै गाउँमा खुसीयाली छाएको छ। 

विसं २०२८ मा बैतडीको पुर्चौडी क्षेत्रबाट साँदनी सरेका भट्टले विगतमा दिनभर हिँडेर कञ्चनपुरको महेन्द्रनगर, भारतको टनकपुर झरेर कुटानीपिसानी गरेर जीविका चलाएको विगत सुनाए।

तर हालै परशुराम –६ चन्दनी र ७ को बीचमा पर्ने साँदनी खोलामा पक्की मोटेरेवल पुल बनेपछि गाउँको विकासको ढोका खुलेको भट्टको भनाइ छ।

‘हामी त कुवाका भ्यागुतासँगै भएर चार दशक सङ्घर्ष गर्दै दुर्गम बस्ती बस्यौँ,’ उनले भने, ‘यो पुल हिँडडुलका लागि मात्रै होइन महाकाली करिडोरमा समेत पर्ने भएकाले यसको महत्व धेरै छ।’

उनले पुल नहुँदा पारी चन्दनीमा रहेको विद्यालयमा बर्खामा विद्यार्थीले जानसमेत छाडेको विगतको अवस्था सुनाए। ‘पुल नभएकै कारण खोलामा पानीको बहाव बढ्दा स्कुले बालबालिका चन्दनीको बस्तीमा आश्रय लिएरै पनि बसे,’ उनले भने, ‘आज भन्दा डेढ दशकअघि मेरै छोरी विद्यालय जाँदा खोलामा बगेपछि मुस्किलले ज्यान जोगायौंँ।’ 

साँदनीका स्थानीय व्यापारीले बर्षात अघि तीन÷चार महिनाका लागि अगावै सामान भण्डार गर्नुपर्ने बाध्यता पनि पुल बनेपछि हटेको छ।

त्यसैगरी बस्ती भएरै महाकाली करिडोरको ‘ट्र्याक’समेत खोल्ने काम थालिएपछि साँदनीबासीमा खुसीको सीमा छैन्। स्थानीय ८० वर्षीय वृद्ध गङ्गादत्त भट्टले साँदनीवासीले निकै अभाव र गरिबीकाबीच महाकाली नदी र साँदनी खोलाको पीडा सहेर बस्ती बचाएको बताए।

‘बस्तीमा बिरामी पर्दा डोकोमा बोकेर महाकालीमा तुईनमा तारेर भारतीय बजारमा उपचारका लागि जानुपर्ने बाध्यता थियो। अहिले पुल, सडक लगायतका विकास पूर्वाधार जोडिँदा गरिबका पनि दिन आएजस्तो भान भयो,’ उनले भने।

साँदनी खोलामा बस्ती बसेको साँढे पाँच दशकपछि पुल बनेको हो। उत्तरतिर चुरे पहाड, पश्चिम दक्षिणमा महाकाली र पूर्वतर्फको साँदनी खोला भएको यो बस्तीमा बर्खामा त हलचलसमेत गर्न गाह्रो हुन्थ्यो। अहिले त गाउँमै मोटर गाडी आउन थालेपछि सपना जस्तै लाग्न थालेको उनले बताए। 

यसैगरी विसं २०२६ मा बैतडीबाट साँदनी सरेका उज्वलदत्त भट्टले आफूहरु खेतीपानी अन्न फल्ने आशमै यहाँ आएको बताए। ‘त्यो बेलाको जस्तो अन्न फल्न पनि अहिले छोड्यो,’ उनले भने, ‘नब्बे किलोग्राम चामल महेन्द्रनगरबाट बोकेर पनि परिवारको छाक टारेका थियौं।’ साँदनी खोलाको पुल आफूहरुका लागि बरदान जस्तै भएको उनले सुनाए। जोगबुढा र आलिताल क्षेत्रमा मात्रै ठेक्का लागेर पनि सडक र पुल लामो समयदेखि अलपत्र परेका यहाँ अझै धेरै छन्। 

त्यसैगरी पुल छेउमै  रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले सडक पूर्वाधार क्रमिक रुपले विकास भएसँगै बस्तीको मुहार फेरिएको बताए। २६ वर्षदेखि सोही विद्यालयमा कार्यरत उनले विगतमा खोलामा पुल नहुँदा दर्जनौँ विद्यार्थी समस्यामा पर्ने गरेको सुनाए।

४२ महिनाको समयावधि पाएर पुल निर्माण थालेको लुम्बिनी–कुमार– राजेन्द्र जेभीका इञ्जीनीयर किशोरराज पाण्डेले ३४ महिनामै काम सकेर पुल सञ्चालनमा ल्याएको हो। रु ३२ करोड ६१ लाख लागतमा निर्मित पुलको लम्बाइ दुई सय पचास मिटर रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .