समाज


रुघाखोकी र ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण अलगै स्थानमा

रुघाखोकी र ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण अलगै स्थानमा

नेपालखबर
माघ १९, २०७६ आइतबार ७:३५,

भरतपुर अस्पतालले बहिरंग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ।

पाँच वटा टिकट काउन्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको छ। कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए।

उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ। कोरोना भाइरसको संक्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आज अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन्। कार्यालय समय शुरु हुने समयमा बिहान १० बजे पछि सबै अस्पताल बाहिर भेला भएर एकै साथ मुखमा मास्क लगाएर दुई हात जोडी नमस्ते गरेका थिए।

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तिवारीले हात नमिलाऔँ दिल खोलेर नमस्ते गरौँ भन्ने आम नागरिकलाई सन्देश प्रवाह गर्न छोटो कार्यक्रम गरिएको बताए। बिरामीको उच्च चाप हुने समयमा सबैलाई सचेतना जगाउने गरी भिडभाडमा मास्क लगाउन र हात नमिलाउन सन्देश प्रवाह भएको उनले जानकारी दिए।

आफूलाई जचाउने चिकित्सक कर्मचारी नै उभिएर नमस्ते गरेपछि उपचारका लागि आएका बिरामी र तीनका आफन्तले अस्पतालको दृश्य हेरेर त्यसको कारणबारे सोधपुछसमेत गरेका थिए। प्रमुख तिवारीले चिकित्सक, कर्मचारीलाई उपचारका क्रममा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

अस्पतालमा पाँच शैय्याको विशेष (आइसोलेसन)कक्ष स्थापना गरिसकिएको छ। अस्पतालका दुई जना विशेषज्ञ फिजिसियनलाई सो कक्षको जिम्मेवारीसमेत दिइएको छ। अस्पतालले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग कोरोना भाइरसका विषयमा विशेष अन्तरक्रियासमेत गर्ने जनाएको छ।

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्। गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए। हाल दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरंग सेवामा उपचारका लागि आउने गर्दछन्। यसमध्ये झण्डै ७० जना रुघाखोकी र ज्वरोको हुने गरेको अस्पतालले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad