समाज


विपद्मा परेकाहरूको उद्धार गर्न काठमाडौँ उपत्यकाभित्र हेलिकप्टर सेवा निःशुल्क दिइने

विपद्मा परेकाहरूको उद्धार गर्न काठमाडौँ उपत्यकाभित्र हेलिकप्टर सेवा निःशुल्क दिइने

नेपालखबर
असार ३०, २०८३ मंगलबार १६:५२, काठमाडौँ

विपद्‌मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी हेलिकप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराउने विषयमा सहमति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) बीच आज (मंगलबार) सहमति भएको हो। 

वायुसेवा सञ्चालक संघसँगको समझदारीअनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नुपरे निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नुपरेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ।

ड्रोन संघसँग विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्करूपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाइलटसहित) उपलब्ध गराउने सहमति भएको छ। सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ। 

यसै गरी नेपाल एसोसीएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) सँग विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखेर माग गरेमा नाराले निःशुल्क रूपमा राफ्ट र तत् सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनु पर्ने समझदारी पत्रमा उल्लेख छ। 

राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्‌मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका काममा प्रयोग गरिने समझदारी भएको छ। 

यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरुरी हुने बताए। 
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा वायुसेवा सञ्चालक संघ नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघ अध्यक्ष राजविक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीको उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad