ad ad

समाज


अन्धविश्वास र कुरीतिविरुद्ध गुरु नानकको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

अन्धविश्वास र कुरीतिविरुद्ध गुरु नानकको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

नेपालखबर
मंसिर ११, २०८० सोमबार ८:२३, काठमाडौँ

शिख सम्प्रदायका प्रवर्तक गुरु नानक जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिएका छन्।

आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेद अन्त्यका साथै अन्धविश्वास र कुरीतिको विरुद्ध मानिसलाई सचेत गराउन गुरु नानकले ​खेलेको भूमिका स्मरणीय रहेको बताएका छन्।

राष्ट्रपतिको शुभकामना सन्देशमा नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सके समाजमा शान्ति स्थापना हुने विश्वाससमेत व्यक्त गरेका छन्।

‘गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिए समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकता थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु’, राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ। 

नानक जयन्तीमा विभिन्न कार्यक्रम हुँदै
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। 

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरेका थिए। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात्मा उनको ठूलो योगदान छ।

 गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए।

यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइँदै छ।

यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्थे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .