ad ad

समाज


जुवातास खेलेको आरोपमा सुदूरपश्चिमबाट ६२ जना पक्राउ

जुवातास खेलेको आरोपमा सुदूरपश्चिमबाट ६२ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०८० बुधबार ११:२७, कञ्चनपुर

दसैँ तिहारमा ठाउँ ठाउँमा जुवा खेल्ने विकृति छ। चाडबाडमा रमाइलोका लागि भनेर खेलिने जुवाले विकृति र अपराधसम्म भएका छन्। 

जुवातास खेलेको आरोपमा विभिन्न ठाउँबाट धमाधम जुवाडे पक्राउ परिरहेका छन्। सुदूरपश्चिमका तीन जिल्लाबाट चाडबाडमा ६२ जना जुवाडे पक्राउ परेका प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार कञ्चनपुरबाट ४२ जना, डडेल्धुराबाट १३ जना र दार्चुलाबाट ७ जना जुवाको खालबाट समातिएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडाका भीमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको थियो। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख ५८ हजार ६ सय ९४ रूपैयाँ र ताससहित पक्राउ गरेको हो। 

भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित मनोज रेष्टुरेन्टबाट जुवा खेलिरहेका ६ जना समातिए। प्रहरीले त्यहाँबाट ताससहित नगद २५ हजार ४ सय ६० रूपैयाँ बरामद गरेको थियो। 

बेलौरी नगरपालिका–६ दुम्लीका गजेन्द्र रानाको गोठबाट पनि प्रहरीले ८ जुवाडे समात्यो। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ४० रुपैयाँसहित नियन्त्रणमा लिएको हो। 

विकराल समस्याको रुपमा फैलिरहेको जुवामा फसेका उनीहरु भाइटिकामा प्रहरी हिरासतमा परेका छन्। ‘जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ४२ जना विरुद्ध जुवा सम्बन्धि मुद्दा चल्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भन्छन्, ‘उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ।’ 

डडेल्धुराको अमरगढी नगरपालिका–१ मौरडाका धर्मराज जोशीको घरबाट जुवा खेलिरहेका १३ जनाको साथमा प्रहरीले २१ हजार ३ सय ७९ रुपैयाँ बरामद गरेको थियो। 

दार्चुलाको महाकाली नगरपालिका–५ गल्फैका ३२ वर्षीय केशव दत्त भट्टको घरमाजुवातास खेलिरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले त्यहाँबाट ७ जनालाई समातेको थियो। 

उनीहरुको साथबाट ४३ हजार ३ सय रुपैयाँ र ६ थान तासको गड्डी बरामद गरिएको प्रहरीले जनाएको छ। जुवाखालबाट पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .