ad ad

समाज


बालकृष्ण सम जन्मिएको घरमा मेयर बालेन्द्र

बालकृष्ण सम जन्मिएको घरमा मेयर बालेन्द्र

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार २०:५०, काठमाडौँ

राष्ट्रको सम्पत्तिको रुपमा संरक्षण र मर्मतसम्भारका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्ने प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन्। 

शुक्रबार कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएको (करिब १३० वर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै मेयर शाहले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताए।

‘सरकारको स्वामित्वमा भएका जग्गा लिजमा लिएर खुल्ला पार्क निर्माण गर्ने र सकेसम्म धेरै खुल्ला ठाउँ बचाउने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ। त्रिपुरेश्वरमा खुल्ला र जीवन्त संग्रहालय निर्माण गर्न थालेका छौँ। त्यहाँ परम्परागत र कलात्मक सिपसँग सम्बन्धित क्रियाकलाप हुनेछन्। यसबाट संस्कृति बचाउन र कला जोगाउन मद्दत पुग्नेछ। सबैले राष्ट्रका लागि काम गर्ने हो, मिलेर गरौँ,’ शाहले बताए।

यो क्षेत्रमा शैक्षिक र बौद्धिक क्रियाकलाप सञ्चालन गर्न समकी भाञ्जी (घर जग्गाको स्वामित्ववाला) डिलाइट सिंहले २०७५ साल काठमाडौँ विश्वविद्यालय बालकृष्ण सम शैक्षिक गुठीलाई जमिन र भवन प्रदान गरिन्। यसको तल्लो तलामा सिंह आफैँ बसोबास गर्छिन्।

उनले भेटका क्रममा भनिन्, ‘मेरी आमा पनि एउटै सन्तान हुनुहुन्थ्यो। म पनि एउटै सन्तान हुँ। पुर्खाबाट आएको सम्पत्तिको आधा भाग आमाले पाउनु भयो। आधा भाग घरमा काम गर्ने सहयोगीलाई दिइएको थियो। जमिन टुक्रा पार्दा मौलिकता संरक्षणमा कठिन हुने भएपछि २ करोड रुपैयाँ तिरेर उहाँलाई दिएको भाग पनि मैले नै लिएँ। त्यसपछि गुठीलाई दिएकी हुँ।’

कुराकानीका क्रममा उनले समले स्थापना गरेको फोटो स्टुडियो, उनले कोरेको चित्र यही भवनमा रहेको बताइन्। वि.सं. १९९० सालको भूकम्प अघि भवन ४ तलाको थियो। माथिल्लो तलामा बार्दली थियो।

त्यसलाई पुननिर्माण गरेर पूर्ववत बनाउँदा भन्दा माथिल्लो तला घटाउँदा बलियो हुने प्राविधिकबाट सुझाव प्राप्त भएपछि माथिल्लो तला घटाएर ३ तलाको बनाइएको सिंहले जानकारी दिइन्।

२ रोपनी २ आना क्षेत्रफलमा २ वटा भवन छन्। पछिल्लो भवन काठमाडौँ विश्वविद्यालयले सवलीकरण गरेर सञ्चालनमा ल्याएको छ। प्रवेश गर्ने वित्तिकैको भवन सवलीकरण गर्नुपर्ने अवस्थामा छ। यसका लागि विश्वविद्यालयले प्रारम्भिक डिजाइन र लागत अनुमान तयार पारेको छ। 

संरक्षणका विषयमा विश्वविद्यालयका उपकुलपति भोला थापाले भने, ‘यस ठाउँलाई वौद्धिक बहस गर्ने, विशेषज्ञ तालिम दिने, संगीत र कलाको प्रशिक्षण प्रदान गर्ने, यस्ता विधामा अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ।’
 
उनीहरूले तयार पारेको योजना अध्ययन गर्दै प्रमुख शाहले, ‘यस शैक्षिक गुठीको गुठीयारका रुपमा महानगरपालिका आवद्ध भएर संरक्षणको काम गर्ने बताए। 

विश्वविद्यालयले तयार पारेको योजना पुनरावलोकनका लागि उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई योजना प्रदान गरेका छन्।

प्रमुख शाहसँग सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारी, सल्लाहकार कुमार व्यञ्जनकार, आयोगका सदस्य बाबुराम भट्टराई, सुरज काफ्ले, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरू सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .