वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ। नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक इन्जिनीयरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो।
आधुनिक इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको हो। यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ।
विज्ञान विषय लिएर दश जोड दुई उत्तीर्ण गरेकाले यस विषयमा अध्ययन गर्न पाउने छन् । आगामी शैक्षिक सत्रदेखि काठमाडौँमा रहेको विश्विद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा यो विषय अध्यापन गराउने गरी तयारी भएको छ।
स्थापत्य वेद चार उपवेदमध्येको एक हो । प्राचीन कालमा यसैका आधारमा पशुपतिनाथलगायत मन्दिरको निर्माण भएको थियो । हाँडीगाउँ क्षेत्रका मठ मन्दिर पनि वास्तु नियमलाई पालना गरेर निर्माण गरिएको हो।
पप्छिल्लो समय वास्तुका नियम बिर्सन लागेकाले विश्वविद्यालयमा औपचारिक अध्ययन अध्यापन गरी यसको संरक्षण र प्रवद्र्धनमा काम गर्न लागिएको डीन खड्काले जानकारी दिए। पश्चिमी देशका मानिस पछिल्लो समय वास्तुका नियममा बढी आकर्षित भएका छन्।
विश्वविद्यालयले हालै अमेरिकाको महर्षि विश्वविद्यालयसँग सम्झौता गरी नेपालमा वास्तुको अध्ययन, अनुसन्धानमा सहकार्य गर्ने बाटो खोलेको छ। नेपाल महर्षि वैदिक फाउन्डेसनको संयोजनमा यो सम्झौता भएको विश्वविद्यालयले जनाएको छ। रासस
Shares
प्रतिक्रिया