महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरु भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ।
दीपक र अमित दुवै जना पिपरा गापा–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए। मामाघर बस्दै आएका बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो।
बिहीबार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको नेतृत्वमा खटिगएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो। हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्पतिएको उनीहरुको कपडा पनि प्रहरीले फेला पारेको छ। रासस
Shares

प्रतिक्रिया