काठमाडौंको तीनकुनेमा चार जनाको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाइएका सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ।
यसबाहेक पनि थुप्रै मान्छेको हत्या गरिसकेको बयान दिएका भण्डारीलाई उच्च निगरानीमा राखिएको कारागार प्रमुख जेलर ललितकुमार बस्नेतले नेपालखबरलाई बताए।
उनलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
गोलघरभित्र सुरक्षा चुनौती भएका र भाग्न सक्ने केदीबन्दीलाई गोलघरमा राखिन्छ। सञ्जय पनि यस्तै सम्भावनाका बन्दी भएकाले उनलाई पनि गोलघर भित्रको कोठामा बन्द गरेर राखिएको छ।
सुन्धारा कारागारको गोलघरमा १० वटा कोठा छन्। अहिले गोलघरमा ५ जना कैदीबन्दी छन्। उनीहरूले कोठा बाहिर हिँडडुल र भेटघाट गर्न पाउँदैनन्। गोलघरभित्रै बन्द गरेर राखिन्छ।
सञ्जयले गत भदौ २९ गते राति तीनकुनेको गैरीगाउँमा रहेको दिव्य सःमिल भित्र ४ जनाको हत्या गरेका थिए।
सः मिलमा काम गर्ने दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो।
घटनाको दुई दिनपछि काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरेको थियो।
उनलाई बाँचुन्जेल कैदको माग गर्दै अदालतमा मुद्दा दायर भएको छ।
Shares

प्रतिक्रिया