ad ad

समाज


सर्लाहीमा जलाउन ठिक्क पारेको युवतीको शव प्रहरीले उठायो, पतिसहित ३ जना पक्राउ

सर्लाहीमा जलाउन ठिक्क पारेको युवतीको शव प्रहरीले उठायो, पतिसहित ३ जना पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ११, २०८० बिहिबार ८:५१, सर्लाही

सर्लाहीको रामनगरस्थित मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले २१ वर्षीया युवतीको शव बरामद गरेको छ। मनुषमारा घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि पक्राउ गरेको छ।

रामनगर १ खैर्वा निवासी सुनिल साहकी पत्नी २१ वर्षीया मनिषा साहको शव बुधबार दिउँसो चितामा चढाएर जलाउन ठिक्क पारेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

घाटबाटै प्रहरीले युवतीका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरेको छ। घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए। मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डीएसपी पञ्जियारले बताए। 

‘मनिषाको मृत्यु शंकास्पद देखिएपछि हामीले शव बरामद गरेका हौँ,’ डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘बुधबार दिउँसो करिब ३ बजे प्रहरी टोली खैर्बा गाउँ नजिकैको मनुषामारा घाटमा पुग्दा शव जलाउन चिता तयार हुँदै थियो। चिताको छेउमै राखिएको शव हामीले उठाएर पोष्टमार्टमका लागि  मलंगवा ल्याएका छौँ।’

घाटबाट उठाएको शव प्रहरीले पोष्टमार्टमका लागि बुधबार साँझ प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा लगेर राखेको छ। 

सर्लाहीकै कविलासी गाउँपालिका- ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो। उनका माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन्। 

डीएसपी पञ्जियारका अनुसार परिवारका सदस्यले भने छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन्। 

‘आत्म हत्या गरेकै भएपनि पोष्टमार्टमसहित कानुनी प्रक्रिया पूरा गरेर मात्रै शव जलाउनु पर्ने थियो,’ डीएसपी पञ्जियारले भने, ‘छिमेकीले पनि उनको मृत्युमा शंका व्यक्त गरेका छन्। छिमेकीले नै खबर गरेपछि प्रहरी घाटमा पुगेको हो। हामी थप अनुसन्धान गर्दै छौँ।’

बधुबार साँझ युवतीका दाजु पनि प्रहरीको सम्पर्कमा पुगेका छन्। ‘उहाँहरुसँग पनि हामी थप बुझ्छौँ। पोष्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने छ,’ डीएसपी पञ्जियारले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .