नेकपा एमाले नेतृत्वको सरकार फर्किएसँगै कोशी प्रदेशको राजधानी विराटनगरमा फेरि आन्दोलन बढ्ने चिन्ता प्रशासनलाई परेको छ।
यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकार हुँदा सुस्ताएको पहिचानवादीसहितको आन्दोलनले फेरि उग्र रुप लिने चिन्ताले प्रशासन सतर्क भएको हो।
फेरि विभिन्न आन्दोलनहरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।
मोरङ प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना निकालेर असोज १ गतेबाट सहरका विभिन्न स्थानमा निषेधाज्ञा लागू हुने जनाएका छन्।
उनका अनुसार निषोधाज्ञा जारी हुने क्षेत्रमा प्रदेशसभा बैठक कक्षबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वको क्षेत्र छ।
पहिचानवादीहरुले कोशी नामको विरोधमा आन्दोलन गरिरहेका छन्। शिक्षकहरु पनि आन्दोलित छन्। अर्कातिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध पनि आन्दोलन छ। विभिन्न विषयमा देखिने असुन्तृष्टि र झगडामा समेत जुलुस निस्कने अवस्था आएपछि यस्तो निर्णय गररिएको प्रशासनले जनाएको छ।
प्रहरी उपरीक्षक दीपक पोखरेलले काठमाडौंमा पनि संवेदनशील क्षेत्रहरुमा लामो समय जुलुस र अन्य भीड हुने गतिविधि गर्न नपाइने गरी यस्तो निर्णय गरिएको बताए।
अदालतले दुई महिनाभन्दा बढी निषेधाज्ञा गर्न नपाइने आदेश दिएकोले त्यहीअनुरुप निषेधाज्ञा जारी भएको हो।
निषेधाज्ञा भएका क्षेत्रमा धेरै मानिसको भीडभाड गर्न नपाइने, जुलुस पनि निकाल्न नपाइने पनि प्रशासनले जनाएको छ।

Shares

प्रतिक्रिया