ad ad

समाज


रेडी ट्रेडका ‘मालिक’ दिलीप भुजेलको बयान : इलेक्ट्रिक सामान ल्याउन दर्ता भएको कम्पनीबाट सुन तस्करी गरेछन्

रेडी ट्रेडका ‘मालिक’ दिलीप भुजेलको बयान : इलेक्ट्रिक सामान ल्याउन दर्ता भएको कम्पनीबाट सुन तस्करी गरेछन्

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार १८:५१, काठमाडौँ

नेपालमा हङकङ हुँदै तस्करीको ३०२ किलो सुन भित्र्याउने रेडी ट्रेड लिङ्क प्रालिका मालिक भनिएका दिलीप भुजेलले आफ्नो नाममा कम्पनी रहेको कुरा आफैंलाई थाहा नभएको बयान दिएका छन्।

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भइसकेर भित्रिएको ६१ किलो सुन पनि रेडी ट्रेड लिङ्क प्रालिकै नाममा हङकङबाटै आएको थियो। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी किरण बज्राचार्यले गत बुधबार आयोजित पत्रकार सम्मेलनमा साउन ३ मा भित्रिएको साढे ६० किलोसहित रेडी ट्रेडका नाममा ३०२ किलो ६२० ग्राम सुन भित्रिएको बताएकी थिइन्। 

तर दोलखाका भुलेजले आफ्नो बयानका क्रममा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको सुन तस्करीमा संलग्न रेडी ट्रेड लिंक प्रालि आफ्नो नाममा दर्ता भएको थाहा नपाएको उल्लेख गरेका छन्। 

उक्त कम्पनीले भित्र्याएका सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएकोसीआईबी प्रमुख बज्राचार्यले बताएकी थिइन्। 

हङकङ ट्रान्जिट हुँदै त्यहाँबाट तीनवटा कम्पनीले रेडी ट्रेडको नाममा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को सुन भित्र्याएको पाइएको बज्राचार्यले बताएकी थिइन्। 

तर यो प्रकरणका प्रतिवादीमध्ये एक रेडी ट्रेड प्रालिका सञ्चालक भुजेलले एक लाख ५० हजार रुपैयाँको लोभमा काजता दिनु र हस्ताक्षर गर्नुबाहेक सुन तस्करीमा संलग्नता अस्वीकार गरेका हुन्। 

भुजेलले बयानका क्रममा मामा रामकुमार भुजेलले काठमाडौंको चाबहिलमा २०७९ फागुनमा फोनमा कुराकानी गरेर आफ्नो भेट हर्कराज राईसँग गराइदिएको बताएका छन्। 

‘निज हर्कराज राईले एउटा कम्पनी दर्ता गरी दिएमा नगद एक लाख ५० हजार पाउने भनेकाले विश्चासमा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरश्वरमा गइर राईले तयार गरी ल्याएका कागजातहरुमा सही गरी कम्पनी दर्ता गरेको हुँ’, उनले बयानमा भनेका छन्, ‘सोपश्चात प्यानमा दर्ता गर्ने, बैंकमा खाता खोल्ने गरेको हो। बैंक खातामा हर्कराज राईले केही रकम जम्मा गरेका थिए। के कति रकम जम्मा गरे मलाई थाहा छैन। कम्पनी दर्ता गरेपछि मलाई दिने भनिएको एक लाख ५० हजार हर्कराज राईले दिए।’

उनले त्यसबेला उक्त कम्पनी इलेक्ट्रोनिक सामानहरु ल्याउने गरी खडा गरेको जानकारी हर्कराजले आफूलाई दिएको बताएका छन्। 

‘इलेक्ट्रिक सामानहरु ल्याउन कम्पनी खडा गरेको हर्कराज राईले भनेका थिए। मेरो नाममा रहेको रेडी ट्रेड प्रालि भ्याटमा र एक्जिम कोड दर्ता रहेको वा नरहेको मलाई जानकारी छैन’, भुजेलले बयानमा भनेका छन्। 

उनले २०७९ चैत २८ गते भन्सार विभागमा दिइएको निवेदन पनि आफ्नो नभएको बयान दिएका छन्। 

‘उक्त निवेदन, त्सको ब्यहोरा र दस्तखत मेरो होइन’, उनले भनेका छन्,‘उद्योग विभागमा निवेदन लिएर गएका भीमबहादुर मगरलाई चिनेको छैन। मेरो नाम राखी उल्लेखित किर्ते कागज हर्कराज राईले तयार गरी पेस गरेको हुनु पर्छ।’

भुजेलले त्रिभुवन विमानस्थल भन्सारका कुनै पनि कर्मचारीलाई आफूले नचिनेको उल्लेख गर्दै सुन तस्करीमा आफ्नो संलग्नताबारे इन्कारी बयान दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .