समाज


चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने

चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार ८:२९, चितवन

चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ। 

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो। 

विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नम्बर ३ का सांसद विक्रम पाण्डेले जानकारी दिए। 

पुल निर्माणका लागि अहिले बजेटसमेत विनियोजन भएको छ।

‘अहिले सर्भेलगायतका कामका लागि बजेट विनियोजन भएको छ,’ पाण्डेले भने, ‘अब बहुवर्षीय योजनाअन्तर्गत पुल निर्माणका लागि बजेट विनियोजन हुनेछ।’

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले सर्भेको काम सम्पन्न गरेर डिजाइनको काम गरिरहेको छ। 

चितवन राष्ट्रिय निकुञ्जको कसराबाट रिउसम्म ११ किलोमिटर कच्ची सडक छ। 

पुल निर्माण भएसँगै भरतपुर र माडी जोड्ने सडकको दूरी निकुञ्जमा मात्रै तीन दशमलव नौ किलोमिटर छोटो हुने छ। 

नयाँ पुल निर्माण भएपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षासँगै वन्यजन्तुलाई असर नपर्ने बतान्छ। पुल निर्माणसँगै निकुञ्जभित्र कालोपत्रसमेत गरिने छ। 

माडी जानका लागि कसरामा पुल निर्माण नहुँदासम्म ध्रुवघाटको बाटो प्रयोग हुने गरेको थियो। 

भरतपुर २३ का वडाध्यक्ष दीपक दबाडीले ठोरीबाट रसुवासम्म नुन बोकेर जाने बाटो यही भएको बताए। पुल निर्माण भएसँगै भरतपुर माडी यात्राका लागि सहज हुने अपेक्षा गरिएको छ। 
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवघाट पुल निर्माणका लागि वन मन्त्रालयले स्वीकृति दिइसकेको सांसद पाण्डेले बताए। 

अहिले कसरमा रहेको पुल जीर्ण अवस्थामा छ। पुल साँघुरो भएका कारण दोहोरो सवारीसाधन सञ्चालन गर्न मिल्दैन। 

हुलाकी सडकअन्तर्गत राप्तीमा एउटा पुल आवश्यक रहेको र त्यसमा पनि ध्रुबघाट उपयुक्त देखिएको सूचना अधिकारी तिवारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad