ad ad

समाज


संखुवासभामा कैदी हत्या प्रकरण : असई लक्ष्मी चौधरी पक्राउ, जेलरविरुद्ध पक्राउ पुर्जी

प्रहरीको कुटपिटबाट मृत्यु भएका कैदीको शव आफन्तले ६
संखुवासभामा कैदी हत्या प्रकरण : असई लक्ष्मी चौधरी पक्राउ, जेलरविरुद्ध पक्राउ पुर्जी

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १२:३४, काठमाडौँ

गत साउन २४ गते संखुवासभा जिल्ला कारागार खाँदबारीमा दुईजना कैदीको हत्या प्रकरणमा ड्युटीमा रहेका असई लक्ष्मी चौधरी पक्राउ परेका छन्।

प्रहरीकै संलग्नतामा दुईजना कैदीको ज्यान गएको सीसीटीभी फुटेजबाट पुष्टि भएपछि मृतकहरुका आफन्तको किटाणी जाहेरीका आधारमा असई चौधरीलाई पक्राउ गरिएको हो। 

त्यस्तै उक्त कारागारका निमित्त जेलर राजेन्द्र घिमिरेविरुद्ध पनि जिल्ला अदालत संखुवासभाबाट पक्राउ पुर्जी जारी भएको छ।

कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको हत्यामा प्रहरीकै संलग्नता रहेको खुलेपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अलग्नै छानबिन टोली बनाएको छ।

हत्यामा संलग्न भएको अभियोगम किटाणी जाहेर दर्ता भइसकेर पक्राउ पुर्जी पनि जारी भएपछि मृतकका आफन्तले घटनाको ६ दिनपछि दुवैजनाको शव बुझ्न तयार भएका छन्। 

प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न मानेका थिएनन्। तर प्रहरीकै कुटपिटबाट दुवैको ज्यान गएको खुलेर अनुसन्धान अघि बढेपछि अब शव आफन्तले जिम्मा लिन लागेका हुन्। 

तोलाङ्गीका दाजु प्रकाश र बलामीका दाजु रमेशले कारागारमा सुरक्षाको नेतृत्व गरेर बसेका असई (प्रहरी सहायक निरीक्षक) लक्ष्मी चौधरी र निमित्त जेलर राजेन्द्र घिमिरेविरुद्ध किटान जाहेरी दिएका थिए।

कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न चौधरीविरुद्ध आइतबार जिल्ला अदालत चैनपुरबाट म्याद थप भइसकेको छ। घिमिरेविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिइसकेको छ। 

सुरुमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले तोलाङ्गी र बलामीको अन्य कैदीको कुटपिटका कारण मृत्यु भएको भन्दै घटनाको ढाकछोप गरेका थिए।

कारागारबाट भाग्न साउन २४ गते राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको थियो। 

कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले प्रहरीले दुवैजनालाई कुटपिट गरेको  बताउँदै आएका थिए। अन्तत: घटनामा प्रहरीकै संलग्नता खुलेपछि छानबिन अघि बढेको हो।

यसअघि कैदीको मृत्यु प्रकरणमा कारागारको अन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका नौ  बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए। घिमिरे आफैं अहिले पक्राउ सूचीमा परेर फरार छन्।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना एक वर्षदेखि यहाँको कारागारमा थिए। 

यसअघि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेको समिति गठन गरिएको थियो।  

त्यसपछि २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका थिए। 

‘दुई कैदीको हत्यामा उनीहरु संलग्न रहेको पुष्टि सीसीटीभी फुटेजबाट भएको थियो। 

सुरक्षा घेराभित्र दुईजना कैदीको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति हिजै खाँदबारी (संखुवासभा) पुगेको थियो।

समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्। यो टोलीले अहिले पनि अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .