समाज


प्रहरी मुख्यालयमा राष्ट्रिय सुरक्षा सम्बन्धी अन्तरक्रिया

प्रहरी मुख्यालयमा राष्ट्रिय सुरक्षा सम्बन्धी अन्तरक्रिया

नेपालखबर
साउन १६, २०८० मंगलबार २०:२, काठमाडौँ

नेपाल प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले अन्तरक्रियामा आएका सुझावहरूबाट सम्रग सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवम् राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक एवम् बाह्य सुरक्षाका विषयहरूमा आवश्यक निर्णय लिन विशेष सहयोग पुग्ने विचार व्यक्त गरे।

अपराधको प्रवृत्ति फरक ढंगबाट परिमार्जित भइरहेको वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायहरूलाई तयार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

प्रहरीको क्षमता अभिवृद्धिका साथै संगठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढीकरण गर्दै जानुपर्ने उल्लेख गर्दै उनले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे।

गृहसचिव दिनेश भट्टराईले अन्तरक्रियामा उठेका विषयवस्तुहरूमा आफ्नो धारणा व्यक्त गर्दै नेपाल प्रहरीले सीमित साधन स्रोत एवम् जनशक्तिको बाबजूद अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

गृहसचिव भट्टराईले आउँदा दिनमा प्रहरी संगठनलाई अझै दक्ष, साधनस्रोत सम्पन्न, सुदृढ एवम् प्रविधियुक्त बनाउँदै लैजानेतर्फ गृह मन्त्रालय निरन्तर क्रियाशील रहेको उल्लेख गरे। सबै सुरक्षा निकायबीच एकीकृत सूचनाको आदान प्रदान एवम् समन्वय भएमा राष्ट्रिय सुरक्षा प्रणालीमा थप प्रभावकारिता आउने विचार उनले व्यक्त गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय सुरक्षाको परम्परागत दृष्टिकोण अनुसार राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा नै राष्ट्रको महत्वपूर्ण आधार स्तम्भ रहेको बताए।

राष्ट्रिय सुरक्षाको सवालमा नेपालमा कानून कार्यान्वयन गर्ने प्रमुख सुरक्षा निकायको रूपमा नेपाल प्रहरीको पनि सशक्त भूमिका र योगदान रहेको चर्चा गर्दै उनले प्राथमिक र स्थायी दूरगामी राष्ट्रिय हितको पहिचान र सो प्राप्तिका लागि राष्ट्रिय सुरक्षामा क्रियाशील विविध पक्षहरूबीच साझा सोच र समझदारीको निर्माण अत्यावश्यक रहेको बताए।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै राष्ट्रिय सुरक्षा सम्बन्धमा नेपाल प्रहरीको भूमिका, चुनौतिहरू, प्रहरी सांगठनिक संरचना, मानवस्रोत, स्रोत साधन व्यवस्थापन, अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad