ad ad

राजनीति


सिंहदरबारमा अखडा जमाएका कर्मचारी दुर्गम पठाइँदै, २२ जनाको सरुवा

सिंहदरबारमा अखडा जमाएका कर्मचारी दुर्गम पठाइँदै, २२ जनाको सरुवा

नेपालखबर
साउन १६, २०८० मंगलबार २०:१३, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरिका कार्यालयमा मात्रै कार्यरत कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउन थालेका छन्। 

विद्यमान सरुवा प्रणालीको विकृति हटाउन भन्दै मन्त्री मोदीले सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी समय बसेका कर्मचारीको सरुवा गर्दै दुर्गम क्षेत्रमा खटाउन थालेका हुन्।

मन्त्री मोदीले सरुवाको विद्यमान विकृति हटाउनका लागि आवश्यक सुझाव दिन भन्दै २०८० जेठ २९ गते सरुवा व्यवस्थापन कार्यदल गठन गरेका थिए। सो कार्यदलले बुझाएको प्रतिवेदनमा समाविष्ट सुझाव कार्यान्वयन हुन थालेका छन्।

कार्यदलको सुझावअनुसार नै मन्त्री मोदीको निर्देशनमा मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको थियो। 

यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको छ। जसअनुसार मन्त्रालयले मंगलबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ।

मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्‌का कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य जना उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा भएको छ। 

त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको मन्त्रालयले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ।

यस्तै, सिंहदरबार वरिपरिका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ।

गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .