वनरक्षकसम्बन्धी लोकसेवाको तयारी पुस्तकमा महिलाबारे अपमानजनक शब्द प्रयोग गर्ने वन मन्त्रालयका सहायक संरक्षण अधिकृत रामएकवाल दासको विषय संसद्मा प्रवेश गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दासलाई तत्काल निलम्बन गरी कारबाही थाल्न सरकारसँग माग गरेकी हुन्।
‘सरकारको बहालबाला कर्मचारी भएर लोकसेवाको तयारी कक्षामा महिलालाई अपमान मात्रै नभइ महाअपमान हुने शब्द राख्न हुन्छ कि हुँदैन?’, उनले संसद् बैठकमा सोधिन्, ‘उनको पुस्तकका ती शब्दले आमनेपाली आमा दिदीबहिनीहरुलाई गम्भीर आघात गरेको छ। दासलाई तत्कालै निलम्बन गरियोस्।’
‘नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वनरक्षक’ शीर्षकको उक्त पुस्तकमा दासले केटी मान्छेहरुलाई लक्षित गरी अपमानजनक प्रश्नोत्तर राखिएको थियो।
महिलाबारे अपमानजनक शब्द राखेर लोकसेवा तयारी पुस्तक लेख्ने सहायक संरक्षण अधिकृत दासलाई अझै कुनै कारबाही भएको छैन।
पुस्तक विवादित भएपछि उनले आफ्नो बचाउ गर्दै सामाजिक सञ्जालमै स्पष्टीकरण पनि दिएका छन्। उनले किताब टाइपका क्रममा गल्ती हुन पुगेको भन्दै त्यसलाई सच्याएर पढ्न भनेका छन्। उनले नयाँ पुस्तकमा त्यो कुरा सुधारेर ल्याउने बताएका छन्।
Shares

प्रतिक्रिया