भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओम नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध सात लाख एक हजार ३८० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अधिकृत झाले आव २०७८/०७९ मा सहकारीको आयमूलक तालिम सञ्चालन नगरी एवं प्रक्रिया नपुर्र्याई पेश्की दिएको तथा नक्कली बिल भरपाई पेश गरी पेश्की रकम फर्छ्यौट गरी रकम हिनामिना गरेको अख्तियारको ठहर छ।
सो सम्बन्धी उजुरी उपर अनुसन्धान हुँदा उनले मधेश प्रदेशका आठवटै जिल्लामा सहकारी सम्बन्धी आयमूलक तालिम सञ्चालन गर्नको लागि पेश्की लिई कार्यक्रम सञचालन गर्दा तालिममा खर्च भएको भन्दा बढी रकमको बिल पेश गरी पेश्की रकम फर्छ्यौट तथा बाँकी खर्च रकम सोधभर्नाको लागि झुठा बिल, भरपाई तयार गरेका थिए।
साथै उनले अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिएको देखिएकोले कैद र बिगो बमोजिम जरिवाना गरी बिगो समेत असुलउपर हुन मागदावी लिइएको छ।
साथै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध पनि कसुरको मतियार ठहर गरी बिगो तीन लाख ६८ हजार ८८० रुपैयाँ कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया