समाज


सुदूरपश्चिममा चौथो पटक हिमपात

सुदूरपश्चिममा चौथो पटक हिमपात

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ८:३३,

बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा चौथो पटक हिमपात सुरु भएको छ।

पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि फेरि हिमपात सुरु भएको छ। हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ।

डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोबडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिकाका–१ का स्थानीयवासी हरी नेपालीले बताए।

उनले भने, ‘गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ।’ हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले चौथो पटक हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन्। यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ।

हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य स‌घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए।

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ। यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दीपायल, सिलगढीलगायतका ठाउँमा मसिनो पानी परिरहेको छ। पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ।

चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने चिकित्सकहरुले सुझाब दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad