ad ad

समाज


मर्निङ वाकमा निस्केका ८ महिलाको सिक्री लुटियो, गिरोहका ५ जना समातिए

मर्निङ वाकमा निस्केका ८ महिलाको सिक्री लुटियो, गिरोहका ५ जना समातिए

लुटपाट अभियोगमा पक्राउ परेकाहरु। तस्बिर : नेपालखबर


नेपालखबर
असार २४, २०८० आइतबार १४:५५, काठमाडौँ

काठमाडौं उपत्यकामा मर्निङ वाकमा निस्किने महिलाहरुको सिक्री लुट्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

मोटरसाइकल प्रयोग गरेर काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र टोखा नगरपालिका क्षेत्रमा महिलाहरुको सिक्री लुट्ने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्न सफल भएको हो। 

श्रृंखलाबद्धरुपमा सुनको सिक्री लुटपाट गर्ने गिरोहका सदस्यहरुलाई महाशाखाले आइतबार पत्रकारहरुमाझ सार्वजनिक गरेको छ।

महाशाखाले केही समयदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा मोटरसाइकलको प्रयोग विशेषत: मर्निङ वाकमा हिँडिरहेका महिलाहरु लुटिएको गुनासो आएपछि अनुसन्धान थालेको थियो। 

घाँटीमा लगाएको सुनका सिक्रीहरु लुटपाट हुने गरेको घटनाको अनुसन्धानका क्रममा महाशाखाले रामेछापको लिखु गाउपालिका वडा नं. १ घर भइ हाल हाल काठमाडौंको हाँडीगाउँ बस्ने रविन दमाईसहित ५ जनालाई पक्राउ गरेको हो। 

उनीहरुलाई प्रहरी टोलीले एकै दिन अर्थात यही शुक्रबार बूढानीलकण्ठसहित विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

पक्राउ परेका सबैलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

को को पक्राउ परे? 
यो प्रकरणमा विभिन्न पाँचजना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने पहिलो व्यक्ति काठमाडौंको हाँडीगाउँमा बस्दै आएका रामेछापको लिखु गाउँपालिका-१ दुरागाउँका ३२ वर्षीय रबिन दमाई थिए। 

त्यसैगरी अर्का व्यक्ति थिए सुनसरीको धरान उपमहानगरपालिका-८ घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका  २६ वर्षीय उमेश क्षत्री।

त्यसैगरी काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-७ घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३० वर्षीय राहुल माझीलाई पनि प्रहरीले लुटापटको अभियोगमा पक्राउ गरेको छ। 

पक्राउ परेका अर्का व्यक्ति छन् धनकुटाको लेगुवा गाउँपालिका-७ घर भई हाल काठमाडौं महामनगरपालिका-९, रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी। 

यो लुटपाटमा पक्राउ पर्ने अर्का व्यक्ति हुन् भारतको पश्चिम बंगाल, पश्चिम मेदनीपुर जिल्ला, दासपुर थाना जयरामचोक घर भएर हाल काठमाडौंको न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती पनि छन्। - 

कहाँ कहाँ भएको थियो लुटपाट? 
गत असार १ गते बिहान ४:४० बजे काठमाडौं-२६ कपुरधारास्थित ४६ वर्षीया रमा पाण्डे मर्निङ वाकमा निस्किएको समयमा लुटिएकी थिइन्। नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले घाँटीमा लगाएको उनको १ तोलाको सुनको सिक्री लुटेर भागेका थिए। 

यही असार १ गते नै बिहान ५:५५ बजे काठमाडौंको टोखा नगरपालिका-६ ग्राण्डी अस्पतालनजिक मर्निङ वाकमा निस्किएकी ४५ वर्षीया सरस्वती खतिवडाको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले लुटेर फररा भएका थिए। 

असार ३ गते ५:५५ बजे काठमाडौंको नागार्जुन नगरपालिका-५ बुद्धचोकस्थित मर्निङ वाकमा निस्किकी ५५ वर्षीया रेखा घिमिरेले घाँटीमा लगाएको सिक्री मोटरसाइकलमा आएका २ अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएका थिए। 

यही असार १३ गते बिहान ५:५० बजे काठमाडौंको टोखा नगरपालिका-३ विष्णुमती पुलनजिक करिब ७० वर्षीया मंगलीमाया डंगोलले घाँटीमा लगाएको सुनको सिक्री २ जना अपरिचित व्यक्तिहरु मोटरसाइकलमा आएर लुटेका थिए। 

यही असार १९ गते बिहान ४:५० बजे काठमाडौंको टोखा नगरपालिका-४ कृष्ण मन्दिरस्थित मर्निङ वाकमा निस्केकी ३४ वर्षीया गंगा राना मगरले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जनाले लुटेर भागेका थिए। 

असार १९ गते बिहान ५:३७ बजे काठमाडौं महानगरपालिका-३ चक्रपथ बगालामुखी मन्दिरनजिक मर्निङ वाकमा निस्केकी ६० वर्षीयाकान्छी श्रेष्ठले घाँटीमा लगाएको आधा तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी भागेका थिए। 

असार २० गते बिहान ४:४५ बजे काठमाडौंको टोखा नगरपालिका-३ शेर्पा पेट्रोल पम्पनजिक मर्निङ वाकमा निस्केकी ४३ वर्षीया रिता श्रेष्ठले घाँटीमा लगाएको पौने १ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जनाले लुटेर फरार भएका थिए। 

असार २० गते बिहान ५:४५ बजे काठमाडौं महानगरपालिका-१५ चागल, जनसेवा मार्चस्थित मर्निङ वाकमा निस्केकी ६५ वर्षीया सरस्वती डंगोलले घाँटीमा लगाएको १.२५ तोलाको सुनको सिक्री मोटरसाइकलमै सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाटपछि फरार भएका थिए। 

के के भयो बरामद?

प्रहरी उपरीक्षक रेग्मीका अनुसार पक्राउ परेकाहरुले लुटेको सुनलाई पगालेर ढिक्कामा परिणत गरेको पाइएको छ।

प्रहरीले ११.२ ग्राम सुनको ढिक्का, सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका २ थान मोटरसाइकल, मोबाइल फोन ६ थान र सुनको ४७ ग्रामको नेक्लेस पनि बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .