ad ad

समाज


खानेपानी ट्यांकी निर्माण नसकिँदै सबै रकम निकाशा, गाउँपालिकाका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी ट्यांकी निर्माण नसकिँदै सबै रकम निकाशा, गाउँपालिकाका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार २४, २०८० आइतबार १४:५८, काठमाडौँ

हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ स्थित खानेपानी ट्यांकी निर्माणको फर्जी बिल बनाएर रकम निकाशा गरेको भन्दै गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु बहादुर शाही विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आर्थिक वर्ष ०७८।०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रकम बिनियोजन भई उपभोक्ता समितिलाई कामको जिम्मा दिएकोमा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी बिल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको शाहीमाथि आरोप छ।

सो सम्बन्धी उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रमुख प्रशासकीय अधिकृत शाहीले आव २०७७/०७८ मा गाउँपालिका–२ देवकोटाबाडास्थित खानेपानी ट्यांकी निर्माण समेतका कार्यमा काम नै नगरी नभए नगरेको कामलाई भए गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्‍कन गरिएको पाइको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

साथै, उनले भुक्तानीको लागि स्वीकृत गरी, फिल्डमा नभए नगरेको कामसमेतको भुक्तानी दिई ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको भनाई छ।

अख्तियारले उनीविरुद्ध कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

यस्तै, सोही गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी र प्राविधिक सहायक (सवइन्जिनियर) गोभधन बोहोराले खानेपानी ट्याङ्की निर्माणसमेतका कार्यमा फिल्डमा नभए नगरेको कामलाई भए गरेको भनी बढी मूल्याङ्‍कन एवं स्वीकृतिका लागि पेस गरेको अख्तियारले जनाएको छ।

यस्तै, गाउँपालिका वडा नं २ का तत्कालीन वडा अध्यक्ष हरिहर उपाध्याय,  देवकोटावाडा खानेपानी ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवी देवकोटा (धिताल) ले  वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कामलाई भए गरेको भनी भुक्तानी लिए÷दिएको अनुसन्धानमा पाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .